काठमाडौं– गत साता मलेसियाको बायमास ओभल मैदानमा विश्व क्रिकेटको सबैभन्दा बलियो मानिने भारतीय युथ–१९ क्रिकेट टोली विरुद्ध मैदानमा उत्रिँदा नेपालको विषयमा धेरैको एउटै भनाइ थियो, ‘यसपालि पनि केटाहरूले ‘धोबी’ खान्छन्।’
नोभेम्बर १२ को दिन भारत विरुद्ध टसका लागि मैदान पुग्दा नेपाली कप्तान दीपेन्द्रसिंह ऐरी पनि केही ‘नर्भस’ देखिन्थे। त्यसैले उनले भारतविरुद्ध टस जिते फिल्डिङ गर्ने मनसाय बनाएका थिए। तर, भयो उल्टो, उनको सोचविपरीत नेपालले टस हार्यो।
भारतीय कप्तान हिमांशु रानाले नेपाललाई ब्याटिङको निम्तो दिए। नेपालले १० ओभर भित्रै २ दशमलव ८ को औसतले रन बनाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान आसिफ शेख र उनको स्थानमा पहिलो विकेटको पतनमा आएका अनिलकुमार साहलाई गुमायो।
त्यति बेला नेपालको अवस्था कमजोर बनिसकेको थियो। नेपाली ड्रेसिङ रुममा हलचल मच्चियो। यसपछि पीचमा प्रवेश गरेका नेपाली कप्तान दीपेन्द्रसिंह ऐरीको सोच थियो, सुरुमा विकेट जोगाएर खेल्ने र सिंगल रन मात्र निकाल्ने।
तर, क्रिजमा भारतीय बलरको केही बल खेलेपछि उनलाई लाग्यो, जति महिमा भारतीय क्रिकेटको सुनिन्छ, त्यस अनुरुपको बलिङ उनीहरुको पटक्कै थिएन। तर पनि उनले संयमित हुँदै ४० बल खेलेर १५ रन मात्र बनाएका थिए। उनले जितेन्द्र सिंहसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेपछि नेपालको अवस्थामा केही सुधार आयो।
यसै क्रममा उनले २९ दशमलव २ ओभरमा भारतका सफल बलर अभिषेक शर्मालाई छक्का प्रहार गरे। यसपछि उनी एक्कासि आक्रामक बने। उनले २ छक्का र ४ चौकाको सहयोगले १ सय १ बलमा ८८ रन बनाए।
पुछारमा उनले देखाएको आक्रामक रवैयाका कारण नेपालले ५० ओभरमा ८ विकेट गुमाएर सम्मानजनक १ सय ८५ रनको योगफल तयार पार्यो। प्रत्युत्तरमा उनले नै ३९ रन खर्चेर भारतका ४ महत्वपूर्ण विकेट लिएपछि भारत १ सय ६६ रनमा अलआउट भयो र नेपालले ऐतिहासिक रुपमा पहिलोपल्ट भारतलाई अन्तर्राष्ट्रिय क्रिकेटमा १९ रनले पराजित गर्यो।
यसपछि नेपाली ड्रेसिङ रुममा मात्र होइन, विश्वभरि छरिएर रहेका क्रिकेटप्रेमी नेपालीमा अपार खुसी देखियो। त्यो खुसी सामाजिक सञ्जालभरि पोखिएको थियो। नेपाली खेलाडीलाई दिइएको बधाई सन्देशले सामाजिक सञ्जालका भित्ता भरिएका थिए।
यो जितलाई कप्तान ऐरी ‘ऐतिहासिक घटना’ भन्न रुचाउँछन्। उनले सोमबार नेपाल लाइभसँग कुरा गर्दै भने, ‘बंगलादेशविरुद्ध अघिल्लो खेल जित्ने अवस्थामा पुगेर हारेपछि हामीलाई लाग्यो– बंगलादेशलाई यति गाह्रो बनाउन सक्छौं भने भारतलाई किन नसक्ने? यही मनोबलले काम गर्यो।’
उनले यसपालि भारतीय बलिङ त्यति आक्रामक नभएको प्रतिक्रिया दिए। ‘उनीहरुको बलिङमा त्यति धार थिएन,’ दीपेन्द्रले भने, ‘केही बलरलाई झेलेपछि मलाई लाग्यो–उनीहरुको बल मज्जाले खेल्न सकिन्छ। अगाडि २ विकेट झरेको हुनाले संयमित भएँ। तर, छक्का हानेपछि म रोकिन चाहिनँ।’
भारतीय टोलीमा सबैभन्दा राम्रा खेलाडी उनीहरुको कप्तान हिमांशु थिए। हिमांशु भारतको घरेलु क्रिकेटमा जमिसकेको नाम थियो। उनले ४६ रन पनि बनाए। तर, अर्को इन्डबाट अन्य ब्याट्सम्यानलाई नेपाली बलरले सजिलै पेवेलियन पठाइरहेका थिए।
‘भारतीय टोलीमा ४ जना ब्याट्सम्यान बायाँ हाते थिए। त्यसैले हाम्रो योजना थियो। बायाँ हातबाट ब्याटिङ गर्नेलाई दायाँ हातले बलिङ गर्ने बलर भिडाउने र दायाँ हातले ब्याटिङ गर्नेलाई बायाँ हाते बलर भिडाउने,’ उनले भारतको इनिङ ४८ दशमलव १ ओभरमा टुंग्याउन आफूले बनाएको रणनीति सुनाए।
नभन्दै, नेपालको योजनामा भारतीय ब्याट्सम्यान फँसेको उनको भनाइ थियो। एकातिर पवन सर्राफ, सन्दीप लामिछाने र सहाब आलमले उनीहरुलाई च्यापिरहेका थिए। अर्कोतर्फ दीपेन्द्रले ४ विकेट झारे।
‘मलाई पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप शर्मालाई सातौं विकेटका रुपमा आफूले कट एन्ड बोल्ड गरेपछि लाग्यो–अब खेल जितियो,’ उनले भने।
नेपाल विरुद्ध पहिलो पल्ट पराजित भएपछि भारतीय खेलाडीहरु मैदानमा हात मिलाउन आएका थिए। तर, उनीहरू संवादविहीन थिए। ‘स्तब्ध भएर होला, उनीहरूले कुनै कुरा उच्चारण नगरी हामीसँग हात मिलाएर मैदानबाट बिदा भए,’ दीपेन्द्रले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।