जोहानेसबर्ग (एजेन्सी)– दक्षिण अफ्रिकी सुन्दरी अडे भान जोर्डानले गत शनिबार चीनको सान्यामा सम्पन्न ‘मिस वर्ल्ड’ स्पर्धामा आफूले ‘मिस वर्ल्ड’ उपाधि विजेता भारतीय सुन्दरी मानुषी छिल्लरको लुगा लगाएको खुलासा गरेकी छिन्।
‘मिस वर्ल्ड’ प्रतियोगिता सम्पन्न भएर घर फर्किएकी जोर्डानले आफूले लगाउन तयारी अवस्थामा राखेको सुनौलो रंगको लुगा हल्का च्यातिएपछि मानुषीले आफ्नो लुगा उपलब्ध गराएको बताइन्।
मिस साउथ अफ्रिकाको फस्ट रनरअप जोर्डानको यो लुगा रोक्सान पेनगिलीले डिजाइन गरेका थिए। तर, पेनगिलीले डिजाइन गरेको लुगाको साटो उनी नीलो रंगको पहिरनमा देखा परिन्।
‘सबैले मलाई सोध्ने गर्छन्, किन मानुषीले मलाई आफ्नो सुन्दर लुगा दिइन्?’, यसको कारण खुलाउँदै उनले भनिन्, ‘ड्रेसको रिहर्सल गर्ने क्रममा दुर्भाग्यवश मेरो लुगा च्यातियो। जुन तत्कालै दुरुस्त गर्न सम्भव नभएपछि मैले मानुषीको लुगा लगाएको थिएँ।’
जोर्डान ‘मिस वर्ल्ड’ को टप–१० मा प्रवेश गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।