नयाँ दिल्ली (एजेन्सी)- पूर्व मिस युनिभर्स बलिउडकी अभिनेत्री सुस्मिता सेन आइतबार ४२ वर्ष लागिन्। धेरै फिल्ममा काम गरे पनि उनले सोचेजस्तो सफलता भने पाइनन्। हालसम्म अविवाहित उनले दुई बालिकालाई कोख लिएकी छिन्। उनले कोख लिएकी पहिलो बालिका हाल १८ वर्षकी र अर्की ७ वर्षकी छन्।
बलिउडमा उमेर घर्किसक्दा पनि विवाह नगर्ने सुस्मिता एक्ली अभिनेत्री होइनन्। ४० टेक्दै गरेका र कटिसकेका उनी जस्तै अन्य केही अभिनेत्री पनि अविवाहित नै छन्। त्यस्ता अभिनेत्रीको सूची यस्तो छ:
नगमा
९० को दशककी ४२ वर्षीया अभिनेत्री नगमा अविवाहित छिन्। १९९० मा 'बागी' फिल्मबाट बलिउडमा डेब्यू गरेकी उनको नाम एक समय पूर्व भारतीय क्रिकेट कप्तान सौरभ गांगुलीसँग जोडिएको थियो। गांगुली विवाहित रहेकाले उनीहरूको सम्बन्ध रोमान्सबाट थप अगाडि बढ्न सकेन।
तब्बु
४६ वर्षको उमेरमा पनि तब्बु सिंगल नै छिन्। 'पहला पहला प्यार'बाट बलिउडमा डेब्यू गरेकी तब्बु पछिल्लो समय 'गोलमाल अगेन' फिल्ममा देखिएकी थिइन्।
अमिषा पटेल
'कहो ना प्यार है'मा ऋतिक रोशनसँगै डेब्यू गरेकी अमिषा पटेलको उमेर ४१ वर्ष भइसकेको छ। कुनै बेला उनको नाम निर्देशक विक्रम भट्टसँग जोडिएको थियो। विवाहित भट्टसँगको उनको सम्बन्ध हाल टुंगिसकेको छ। एकताका स्टारका रूपमा हेरिएकी आमिषाको फिल्मी करिअर पनि समयक्रममा गतिलो हुन सकेन। पछिल्लो पटक उनी 'रेस २'मा देखिएकी थिइन्।
तनिषा मुखर्जी
अभिनेत्री काजोलकी बहिनी तनिषाको उमेर ३९ वर्ष भइसकेको छ। बलिउडमा उनको करिअर बिर्सनलायक नै छ। उनी आफ्नी आमा तथा दिदी जतिको सफल हुन सकिनन्। बिग बोसमा समेत सहभागी भएकी उनको नाम अरमान मल्लिकसँग जोडिए पनि कार्यक्रम सकिएसँगै त्यो चर्चा सेलाउन पुग्यो।
नरगिस फाकरी
३८ वर्षीया नरगिस पनि सिंगल छिन्। अभिनेता उदय चोपडासँग नाम जोडिए पनि त्यो सम्बन्धले नयाँ रूप लिन सकेन। रणवीर कपुरसँग 'रकस्टार'बाट बलिउडमा डेब्यू गरेकी नरगिसले केही हिट फिल्म दिएकी छन्।
शमिता शेट्टी
शिल्पा शेट्टीकी बहिनी ३८ वर्षीया शमिताको फिल्मी करिअर लगभग काजोलकी बहिनी तनिषाको जस्तै रह्यो। यसराज फिल्मसको सुपरहिट मल्टि स्टारर 'मोहब्बतें'बाट डेब्यू गरे पनि उनले त्यसपछिका दिनमा गतिलो सफलता पाउन सकिनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।