भैरहवा- बँदेल मार्नका लागि थापिएको करेन्टको पासोमा परी रुपन्देहीमा एक जना व्यक्तिको मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-११, भुपु सैनिक टोलका ४५ वर्षीय मीनबहादुर गोतामे क्षेत्रीको मृत्यु भएको हो। तिलोत्तमा-११, सैनिक टोलको ३ नम्बर चोकको रोहिणी खोलाको पश्चिमी किनारामा बँदेललाई थापेको करेन्टेको पासोमा परि उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।
बैसाख १ गते देखि हराएका गोतामे घर नफर्किएपछि गोतामेका आफन्तले बैसाख ७ गते इलाका प्रहरी कार्यालय मंगलापुरलाई जानकारीसहित निवेदन दिएका थिए। गोतामेलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतकाे टाेलीले खोज्ने क्रममा १० गते देवदह नगरपालिका-९ बाघ कुमार जंगलमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जानकारी दिए।
उनका अनुसार मृतक गोतामे क्षेत्री देवदह नगरपालिका-९ मा आयोजित नाचगान कार्यक्रम हेरेर बिहान ३ बजेतिर घर फर्कने क्रममा करेन्ट लागेर मत्यु भएको हो। बँदेल मार्न थापिएको करेन्टको पासोमा बँदेल पनि परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा सम्लग्न ५ जनालाई प्रक्राउ गरी ज्यानसम्बन्धी मुद्धा दर्ता गरेको छ। पक्राउ पर्नेमा तिलोत्तमा-११ का २६ वर्षीय 'नवीन' भनिने उपेन्द्र शाह, ३५ वर्षीय नरबहादुर पुन, ३५ वर्षीय 'सूर्य' भनिने चन्द्रबहादुर थापा, ४० वर्षीय 'परविन' भनिने अमर पुन र २८ वर्षीय 'धर्मबहादुर' भनिने कृष्ण राना रहेका छन्। उनीहरुमध्ये नरबहादुरले पंखा र धारा बनाउने काम गर्दथे भने अन्यले घर बनाउने मिस्त्री काम गर्दथे।
घटनामा सम्लग्न ५ जनाको समूहले पासोमा परेको बँदेल काटेर खाएर गोतामेको लास घटनास्थलभन्दा ५ सय मिटर खोला पारीको जंगलमा लगेर दिनभर कुरेको र राति ९ बजेतिर खाल्डो खनेर पुरेर फर्किएको अनुन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
५ जनाको समूहले गोतामेलाई २ गते राति नै पुरेपनि प्रहरीको खोजतलासबाट १० गते मात्र भेट्टाइएको थियो। प्रहरीलाई खोजतलासका लागि ७ गते मात्र जानकारी पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।