काठमाडौं- ‘मेरै जस्तो तिम्रो हृदयको गमलामा पनि
सम्झनाको फूल फुलेकै होला
सम्झिराख
सम्झिराख, लामो सफरमा
आँसु र हाँसो बाँड्नुपर्छ
सम्झिराख’
कवि तुलसी दिवसले बाल्यकालमै लेखेका थिए, 'सम्झिराख' शीर्षकको कविता। सो कवितालाई लोक-रक ब्यान्ड नेपथ्यले आफ्नो दसौं एल्बममा गीतका रुपमा समेटेको थियो। अब भने सो गीत म्युजिक भिडियो बनेर आएको छ।
स्थापनाको २५ वर्षे उत्सव मनाइरहेको नेपथ्यले रजत वर्षमा घोषित उपहार शृंखला अन्तर्गत म्युजिक भिडियो ल्याएको हो। नेपालयले निर्माण गरेको म्युजिक भिडियो केही वर्षयता नेपथ्यको श्रव्यदृश्य व्यवस्थापनमा सक्रिय ‘कथाहरू’ समूहले बनाएको हो।
कवि दिवसले बाल्यकालमै लेखेको कविता पछि युवा अवस्थामा कवितासंग्रह निकाल्ने बेला मन परेपछि प्रकाशन भएको सम्झिए।
'अहिले प्रौढ अवस्थामा आइपुग्दा नेपथ्यले यसरी गीतका रुपमा ल्याएकोमा असाध्यै खुसी लागेको छ', उनले भने।
ललितपुरका पुराना गल्ली, दरबार र ढुंगेधाराको दृश्य समेटिएको भिडियोमा नेपथ्यका सदस्यहरु रातको एकान्तमा सहर परिक्रमा गरेको देखाइएको छ।
नेपथ्यले यसअघि कवि तीर्थ श्रेष्ठको ‘आमा’लगायत केही कवितालाई गीतका रुपमा ल्याएको थियो।
ब्यान्डका अगुवा अमृत गुरुङले कवि दिवसको पुरानो कविता संग्रह हात परेपछि त्यसैमा रहेको एक कवितालाई संगीतबद्ध गर्ने प्रयास गरेको सुनाए।
नेपथ्यको सार्वजनिक हुने क्रममा रहेको दसौं एल्बममा समेटिएको यो गीत म्युजिक भिडियोमा आएको एल्बमको पाँचौं गीत हो। यसअघि सो एल्बमको ‘कोशीको पानी’, ‘हो रामा रामा’, ‘शिरफूल शिरैमा’, ‘हामी नेपाली’ गीतको भिडियो बनेर नेपथ्यको युट्युबको च्यानलमा उपलब्ध भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।