काठमाडौँ– “विकसित मुलुकमा दुई पार्टी मात्र हुन्छ, नेपालमा दलहरुको संख्या घट्दो हुनु सकारात्मक छ”, नायक निखिल उप्रेतीले भने । उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दलबीच भएको गठबन्धनलाई सकारात्मक रुपमा लिएको बताए।
बाम गठबन्धनका पक्षमा खुलेर लागेका उनले दलहरु जुटेर अघि बढ्दा मुलुकको स्थिरताका लागि राम्रो हुने विचार व्यक्त गरे ।
वाम गठबन्धनबाट काठमाडौँ जिल्लाका उम्मेदवार र कलाकारबीच आज यहाँ आयोजित अन्तरक्रियामा कलाकार उप्रेतीले धेरै पार्टी भएमा हल्ला बढी हुने तर काम कम हुने स्थिति हुने भएकाले क्रमशः दुई दल मात्र भएमा विकासका काम तीव्र रुपमा अघि बढ्ने र कला क्षेत्र पनि विकसित हुने अपेक्षा व्यक्त गरे । “बरु हामीलाई गहना भनिदिनुपर्दैन, नेताले देशको विकास गरिदिए हुन्छ”, नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहितका उम्मेदवारसमक्ष उनले भने ।
नायक तथा निर्माता अशोक शर्माले भने गठबन्धन भएकामा आफू अस्पष्ट रहेको बताए । ‘स्थानीय तहमा एमालेको यसै जनमत देखिएको थियो, अहिले वाम गठबन्धन किन भयो, जनतामा रहेको प्रश्नको उत्तर दिनुपर्ने देखिन्छ ”, कलाकार शर्माले भने ।
चुनावमा एमालेलाई समर्थन गरेका कलाकार रवीन्द्र खड्का भने अबको समाधान र समृद्धि स्थिर सरकार भएको वाम शक्तिले जितेपछि मात्रै हुने विचार व्यक्त गरे।
कलाकारको सुझाव सुनेपछि नेता नेपालले निर्वाचनपछि आर्थिक विकासको मूल प्रवाहमा नेपाललाई अग्रसर गराउन आफूहरुले पहल गर्ने विश्वास दिलाए। उनले भने, “मुलुक यथास्थिति र प्रतिगमनको क्रमबाट अग्रगमनमा जान अनिवार्य भइसकेको छ, यो कार्यभार पूरा गर्न वाम शक्ति मात्र सक्षम छ, कलाकारले यस मर्मलाई बुझेर हामीलाई समर्थन गरिदिन म आग्रह गर्दछु ।”
एक प्रसङ्गमा उहाँले मंसिर १० र २१ म तोकिएको निर्वाचन सरेमा व्यवस्थापिका–संसद्ले पूर्ववत् काम गर्ने जनाउ दिए। कार्यक्रममा आकाश अधिकारी, उत्तम केसी, रवि डंगोल, केशव भट्टराई, निर्मल शर्मा, नरेश भट्टराई, चैत्यदेवी, गोपालकाजी कायस्थ, सुदर्शन थापा, विमला गिरीलगायतको सहभागिता थियो। उनीहरुले वाम गठबन्धनलाई सघाउने संकेत कार्यक्रममा गरेका थिए ।
काठमाडौँ क्षेत्र नं ७ का एमालेका उम्मेदवार रामवीर मानन्धर चलचित्रघर सञ्चालक पनि भएकाले उनलाई सघाउन आफूहरु तयार रहेको कलाकारहरुले बताए। काठमाडौँ क्षेत्र नं ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, क्षेत्र नं ६ मा प्रदेशका उम्मेदवार केशव स्थापित, ८ मा प्रदेशका उम्मेदवार डा अजयक्रान्ति शाक्य पनि कार्यक्रममा सहभागी थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।