काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायली समकक्षी बेन्जामिन नेतन्याहुलाई टेलिफोन गरेका छन्।
'बेसासक दिवस'का दिवसका अवसरमा नेतन्याहुलाई शुभकामना प्रदान गरेको प्रधानमन्त्री ओलीले समाजिक संजाल ट्विटरमार्फत जानकारी दिएका छन्।
बेसासक दिवसलाई बुद्ध जयन्ति समेत भनिन्छ। विभिन्न देशका बुद्धमार्गीहरुले यसलाई विभिन्न दिनमा मनाउने गर्छन्। इजरायलमा बहुसंख्यक धर्मावलम्बी यहूदी समुदायका भए पनि बुद्ध धर्म मान्नेहरु समेत छन्।
त्यस्तै, ओलीले इजरायलको प्रधानमन्त्रीको पाँचौं कार्यकालका लागि मनोनयन भएकामा समेत बधाई दिएका छन्। गत बुधबार प्रधानमन्त्रीका लागि नेतन्याहुको मनोनयन दर्ता भएको थियो। इजरायली राष्ट्रपतिले मिलिजुली सरकार बनाउनका लागि नेतन्याहुलाई ४२ दिनेको समय दिएका छन्।
९ अप्रिलमा भएको संसदीय चुनावमा नेतन्याहुको 'लिकुड पार्टी'ले २६.४६ प्रतिशत मत पाएको थियो भने उनको प्रतिष्पर्धी दल पूर्व सैनिक प्रमुख बेन्नी गन्ज नेतृत्वको गठबन्धन 'ब्ल्यु एन्ड ह्वाइट'काे पक्षमा २६.३१ प्रतिशत मत खसेकाे थियाे।
१ सय २० सदस्यीय संसद् (नेसेट)मा नेतन्याहु र गन्जले समान ३५ सिट प्राप्त गरेका छन्। कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेका कारण सरकार गठनका निम्ति साना दल र स्वतन्त्र उम्मेदवारको सहयोग लिनुपर्नेछ।
साना दक्षिणपन्थी पार्टीहरूले नेतन्याहुलाई समर्थन गर्ने सम्भावना रहेकाले उनी पाँचौ पटक इजरायलको प्रधानमन्त्री चुनिने प्रवल सम्भावना छ।
नेपाल र इजरायलबीच सन् १९६० मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।