प्रतीकात्मक तस्बिर
कैलाली- कैलालीको घोडाघोडी नगरपालिका ४ घोडाघोडीमा १६ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१ का केशव भनेर चिनिने राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र बिक र नवीन शाही रहेका छन्।
घटना बैशाख १ गते बिहान भएको भएपनि शनिबार मात्रै जाहेरी परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
प्रहरी समक्ष मुद्दा परेलगतै घटनामा संग्लग्न ६ जनालाई नियन्त्रणमा लिई सोधपुछ थालेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।
किरोशी आफन्तको विवाहमा जाने क्रममा घोडाघोडीको जङ्गलमा राकेश गिरीको समूहले किशोरीलाई इन्जेक्सन लगाई सामूहिक बलात्कार गरेको जाहेरीमा उल्लेख गरिएको प्रहरी निरीक्षक जोशीले बताए।
उनले भने, 'भर्खर मुद्दा दर्ता भएको छ, जाहेरीमा किटान गरिएका ७ जना मध्ये ६ जनालाई पक्राई गरिसकेका छौं। अन्यलाई पनि चाँडै नियन्त्रणमा लिन्छौं।'
घटना लगतै पीडित किशोरीको घोडाघोडी अस्पतालमा उपचार हुन नसकेपछी नेपालगन्ज रेफर गरिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि अहिले काठमान्डौमा उपचार भइरहेको जोशीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।