बुटवल- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक विकासको बाटोमा अघि बढिसकेको बताएका छन्। सरकारले गरेको विकास र प्रगति देखेर केही तत्वले अनावश्यक हल्ला फैलाउन थालेको समेत प्रधानमन्त्री ओलीले बताएका हुन्।
बुटवलमा आयोजित जितगढी विजय उत्सवको मूल समारोहलाई सम्बोधन गर्दै ओलीले सरकार समृद्धिको यात्रामा निरन्तर अगाढि बढेको दाबी गरे। उनले भने, 'समृद्धिको यात्रा देख्न नचाहनेहरु धर्म, समुदाय र ज्योतिषीहरुलाई उक्साएर अनावश्यक भ्रम फैलाउन काममा लागिपरेका छन्, यी सबै भ्रम मात्रै हुन् यस्ताको पछाडि नलाग्नुस्।'
गणतन्त्र हटेर राजसंस्था फर्किने, प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रधानमन्त्री हुने योग रहेको जस्ता ज्योतिषीहर"को भविष्यवाणी प्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, 'त्यसका पछाडि लागेर समय बर्बाद गर्नुको अर्थ छैन्।'
राजनीतिक स्वार्थ पूरा नभएपछि ज्योतिषीलाई लोभ देखाएर भ्रमपूर्ण भविष्यवाणी गर्न उक्साएको प्रधानमन्त्री ओलीको आरोप छ ।
‘केही राजनीतिक स्वार्थका लागि पनि जनताकहाँ जाँदैन, ज्योतिषीकहाँ जान्छ र यसो भनिदिनुपर्यो भन्छ,' उनले भने, 'आजको आवश्यकताका लागि विकासका निम्ति काम गर्नुपर्यो, ज्योतिषीकहाँ गएर हुँदैन।’ उनले दक्षिणको लोभमा सरकारको बदनाम नगर्न ज्योतिषिहरुलाई चेतावनी समेत दिए।
प्रधानमन्त्री ओलीले संविधानविरोधी क्रियाकलाप गर्न कसैलाई छुट नहुने दोहोर्याएका छन्। उनले संविधानविरोधी काम गर्ने जो कोहीलाई पनि सरकारले नछोड्ने बताए।
वीर पुर्खाहरुले रगत पसिना बगाएको इतिहास बोकेको देश नेपाल भएको भन्दै उनले आफ्नो पहिचान आफैं स्थापित गर्ने महान् अभियानमा सरकार लागिपरेको उनले बताए।
सरकारको ध्यान शान्ति, सुव्यावस्था र बिकासमा केन्द्रित रहेको भन्दै ओलीले अब मुलुकले बिकासको बाटो समात्ने दावी गरे। त्यसका लागि सबै आधारहरु तयार हुदै गएको उनले बताए।
देशभरका गढी र किल्लाको सरकारले संरक्षण गर्ने बताएका ओलीले जितगढी किल्लाको रक्षा गर्नु देशको रक्षा गर्नु भएको भन्दै उनले यहाँको अतिक्रमित जमिनलाई पुरानै अवस्थामा कसरी ल्याउने सरकारले भन्नेबारे सरकारले काम गर्ने विश्वास व्यक्त गरे।
‘एकताका नेपाली सेनाको नाम शाही नेपाली थियो, राजाकै चाकरी गर्ने हो कि भन्नेजस्तो लाग्थ्यो, सेना लोकतान्त्रिक भयो,' उनले उदाहरण दिए, 'म प्रधानमन्त्री छु, मेरो नाम जोडेर नेपाल सरकार ठान्छन्, म सरकारको अंश हो, म व्यक्ति हो, त्यस्तै गरी नेपाली सेना देशको हो, सेनाले देश बनायो, उसको बलिदान र योगदान वंशसँग जोडिँदैन।’
शासकीय अव्यवस्था समाप्त पारेर जनताको व्यवस्था ल्याएको स्मरण गरेका थिए। सामन्ती राजतन्त्र फालेका छौं, अब कुनै पनि शक्तिले हामीलाई रोक्न नसक्ने र बताए।
‘उजिरसिंह थापा देशका लागि लडेका थिए, परिवारका लागि होइन, कसैको वंशका लागि होइन देशका लागि लडेका थिए, ती नेपालीका वीर सन्तान हुन्,' उनले भने, ‘केही भ्रमका खेती फैलाउनेहरु छन्, कोही धर्मका नाममा राजनीतिलाई अलमल्याउने प्रयास गर्छन्।’
कार्यक्रममा उपप्रधानमन्त्री इश्वर पोखरेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपा महासचिव विष्णु पौडेल, कांग्रेस नेता बालकृष्ण खाँण, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जितगढी किल्लालाई मुलुककै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।