विर्तामोड- अनारमनी इलाका प्रहरी कार्यालयमा १५ वर्षीय बालकको मृत्यु रहस्यमय भएपछि छानबिन समिति गठन गरिएको छ।
छानबिनका लागि झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठको संयोजक तीन सदस्यीय सो समिति गठन गरिएको हो। प्रहरी निरीक्षक कमल अधिकारी र प्रहरी सहायक निरीरक्षक नवराज थापा सदस्य रहेको सो समितिले एक साताभित्र छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने उक्त कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
मोबाइल चोरीको आरोपमा पक्राउ परेका मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीढोलीको बैसाख १ गते राति हिरासतमा रहस्यमय तरिकाले निधन भएको थियो। प्रहरीले एक भारतीय नागरिकले झुण्डिएर आत्महत्या गरेको भन्दै घटना ढाकछोप गर्न खोजे पनि उनी नेपाली नागरिक भएको व्यहोरा सार्वजनिक भएको थियो।
प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले हिरासतमा रहेको बाथरुममा झुण्डिएको अवस्थामा उनको शव फेला परेको जानकारी गराए पनि उनका आफन्तले हत्या नै गरिएको आरोप लगाउँदै छानबिन हुनुपर्ने माग गरेकाले सो समिति गठन भएको हो।
'सुरुमा भारतीय नागरिक हो भन्ने सूचना आएको थियो। आफन्त नभेटेपछि बेवारिसे मुचुल्का बनाएर शव परीक्षणका लागि मेची अञ्चल अस्पताल ल्याइएको थियो,' उपरीक्षक श्रेष्ठले भने, 'पछि उनको घर काँकडभिट्टा भएको पत्ता लागेपछि शव आफन्तलाई बुझाइएको हो।'
बाथरुमको धाराको टुटीमा किशोरले लगाइरहेको कपडाको पासो बनाएर आत्महत्या गरेको प्रहरीले जनाएको थियो।
कार्कीढोली मोबाइल चोरीको अभियोगमा गत चैत २९ गते बेलुका बिर्तामोडबाट पक्राउ परेका थिए। मृतक किशोरका बुबा रमेशले आफूलाई घटनाको विषयमा बैसाख २ गते बिहान १० बजे मात्रै थाहा भएको र त्यति बेलासम्ममा छोराको शवलाई मेची अञ्चल अस्पताल पुर्याएर परीक्षण गरिसकेको बताए।
कक्षा ५ मा अध्ययनरत कार्कीढोलीको मृत्युपछि प्रहरीले बनाएकोे स्थलगत मुचुल्कामा उमेर १९ वर्ष पुगेको उल्लेख गरे पनि रमेशले आफ्नो छोरा १५ वर्ष मात्र पुगेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।