काठमाडौं- फूलपातीबाट प्रदर्शनमा आएको 'छक्का पञ्जा २' ले बिहीबार ५१औं दिन मनाउँदैछ। फिल्मका निर्माता, कलाकार तथा पटकथाकार दीपकराज गिरीले भने फिल्मले मध्यान्तरपछि लय गुमाएको स्वीकार गरेका छन्।
फेसबुकमा आफ्नो अभिव्यक्ति पोस्ट गर्दै गिरीले फिल्मको दोस्रो सिक्वेल पहिलेको तुलनामा कमजोर बनेको पनि स्वीकारे। रिलिजपश्चात् फिल्मको विषयलाई लिएर कानुन व्यवसायी, महिला अधिकारकर्मी लगायतले भ्रम छर्ने काम गरेको भन्दै चर्को आलोचना गरेका थिए।
'सबै वर्गलाई यसले आनन्दित तुल्याउन सकेन। चलचित्र मध्यान्तरअघि पूर्ण मनोरन्जनात्मक बने पनि त्यसपछि कथावाचन शैली कठिन हुन गएकाले सोचेजत्तिको खुराक उपलब्ध गराउन सकिएन होला,' दीपकले लेखेका छन्, 'कथालाई पूर्णविराम लगाउनुपर्ने बाध्यता र थुप्रै पात्रहरूलाई न्याय गर्नुपर्ने दबाबले मध्यान्तरपछि केही लय गुमाउन पुगेकै हो। गीतसंगीत पहिलाको तुलनामा उत्कृष्ट हुन सकेन।'
यस पटक आफूलाई फलामको चिउरा चपाए झैं भएको पनि उनले उल्लेख गरेका छन्। गीतको विवाद, वितरकहरूको तानातान, केही प्रदर्शकहरूको अवरोधले तनाव झेल्नुपरेको दीपकको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।