काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी देश चीनको ९ दिने राजकीय भ्रमण गर्ने भएकी छिन्।
चिनियाँ राष्ट्रपति सी चिन फिङको निमन्त्रणामा राष्ट्रपति भण्डारी चीन जान लागेकी परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जनाएको छ।
बैसाख ११ गते चीन प्रस्थान गर्न लागेकी भण्डारी पहिलो पटक चीनको राजकीय भ्रमणमा जान लागेकी हुन्। चीनले नेपालका राष्ट्रपतिलाई राजकीय भ्रमणका लागि बोलाएको याे पहिलाेपटक हाे। प्रथम राष्ट्रपति रामवरण यादव र पहिलो कार्यकालमा राष्ट्रपति भण्डारी चीन गएपनि राजकीय निम्तो पाएका थिएनन्।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा हुने दोस्रो 'बेल्ट एन्ड रोड इनिसिएटिभ'(बीआरई) सम्मेलनलाई सम्बोधन गर्नेछिन्। बिआरआईको दोस्रो शिखर सम्मेलन बैसाख १२ गते सुरु भएर १४ गते सकिनेछ।
सम्मेलनमा ३७ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीले आयोजना गर्ने भोजमा समेत सहभागी हुने छिन्। त्यस्तै उनले अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी र नेपाल भ्रमण कार्यक्रमको उद्घाटन समारोहमा समेत सहभागी हुनेछिन्।
बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले समकक्षी सीसँग दुईपक्षीय भेटवार्ता गर्नुका साथै नेपाल–चीनबीच भएको पारवाहन सम्झौताको प्रोटोकलमा समेत हस्तारक्षेर गर्नेछिन्।
उनले बेइजिङमा नेपाल र चीनियाँ व्यापारिक समुदायको संयुक्त बैठकलाई समेत सम्बोधन गर्नेछिन्। त्यस्तै, नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुनेछिन्।
भ्रमणकै क्रममा राष्ट्रपति भण्डारीले सान्क्षी प्रान्तको सियान र तिब्बतस्थित लासाको भ्रमण गर्ने र त्यहाँका नेताहरुसँग भेटघाटसमेत गर्ने कार्यक्रम छ।
राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद्का सदस्य, उच्च सरकारी अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका छन्।
राष्ट्रपति भण्डारी बैसाख १९ गते स्वदेश फर्किनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।