राजविराज– उदयपुरको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको त्रियुगा नदी नियन्त्रणका लागि ६ अर्ब बढीको डिपिआर स्विकृत भएको छ।
बाढीले वर्षेनी सयौं हेक्टर जमिन, दर्जनौं घर र जनधनको क्षति गर्न थालेपछि त्यसको नियन्त्रणका लागि उपाय तयार गरिएको हो। सप्तरी सदरमुकाम राजविराज स्थित खाँडो नियन्त्रण आयोजनाले तयार पारेको डिपिआरलाई सरकारले स्विकृति दिएको छ।
कुल ६ अर्ब ८४ करोड लागत अनुमान गरिएको डिपिआर स्विकृत भएपछि बजेट स्विकृतिका लागि पहल भइरहेको आयोजनाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर विष्णुदेव यादवले जानकारी दिए।
डिपिआर अनुसार उदयपुरको त्रियुगा नगरपालिका–७ स्थित कालीखोला (तोरीबारी)देखि बेलका नगरपालिका– २ स्थित सप्तकोशी नदीसम्म दुवैतर्फ ५० किलोमिटर लामो बाँध निर्माण गरी त्रियुगा नियन्त्रण गरिने छ।
योजना सम्पन्न गर्न १० वर्ष लाग्ने यादवले बताए। ‘आव ०७५/०७६ देखि काम सुरु गर्ने गरी योजना तयार गरिएको छ,’ यादवले भने, ‘योजना अनुसार नै बजेट स्विकृत भए आव ०८४/०८५ सम्ममा काम सम्पन्न हुनेछ।’
५० वर्षपछि आउने बाढीलाई लक्षित गरी डिपिआर तयार गरिएको आयोजनाले जनाएको छ।
नदी नियन्त्रणका क्रममा चुरे क्षेत्र भएर मिसिने माटीखौवा, जलजले, मोहनपुर, देउरी, फर्सेठ, ठाडी, हडियाखोला, सिवाइखोला, गेरखोला, बरुवा, भिमा, द्वारखोला तथा दर्जन बढी खोल्सी समेत व्यवस्थित गर्ने गरी डिपिआर तयार गरिएको छ।
नदीमा ९ मिटरको बाँध निर्माण गरिने छ। नदीको सतह १७ मिटर चौडाईमा सीमित गरिने छ भने विभिन्न स्थानमा गरी २ दर्जनभन्दा बढी पुल निर्माण हुनेछन्।
के हुन्छ फाइदा
नदी नियन्त्रण योजना सम्पन्न भएपछि बाँध निर्माण भएपछि उदयपुरको त्रियुगा, चौदण्डिगढी, बेलका तथा सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका हजारौं जनता बाढीको चपेटाबाट मुक्त हुनेछन्।
१० हजार घरधुरीका ८० हजार जनता प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ। बाँध निर्माणले कुल २ हजार २ सय हेक्टर जमिनमा फाइदा पुग्ने छ। ४ सय हेक्टर जग्गा उकास हुने आयोजना प्रमुख यादवले जानकारी दिए।
यस्तो छ समस्या
लेकक्षेत्र स्थित रौतापोखरी हुँदै बग्ने त्रियुगा नदी सप्तकोशीेको एक सहायक नदी हो। यो नदी उदयपुर जिल्लाको सदरमुकाम गाईघाट सहरको मध्य भागबाट बग्दै पूर्वमा गएर सप्तकोशी नदीमा मिल्दछ।
यसले उदयपुरका त्रियुगा, चौदण्डीगढी र बेलकासहित सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका केही भागमा समेत क्षति गर्ने गरेको छ।
त्रियुगा र अन्य खहरे खाला नियन्त्रणमा नहुँदा त्रियुगा नगरपालिका तथा साबिकका जोगीदह, हडिया, सुन्दरपुर, बसाहा र तपेस्वरी गाविसको ९० प्रतिशत खेतियोग्य जमिन बलुवामा परिणत भएको स्थानीयहरू बताउँछन । त्रियुगाको बाढीले खेतीयोग्य जग्गा र खडेरी समेत पुरेपछि कतिपय सर्वसाधारण विस्थापित समेत भएको उनीहरू बताउँछन्।

वन विनासका कारण नदीमा वर्षेनी चुरे क्षेत्रबाट बगेर आएको गिट्टी र बालुवाले नदीको सतह उच्च भएको छ। कतिपय स्थानमा खेती योग्य जमिनकै सतहमा नदीको सतह पुगेकाले हरेक वर्षको बाढीले आसपासका क्षेत्र डुवानमा पर्ने गरेको हडिया ३ का रामकुमार चौधरी बताउँछन्।
महाभारत र चुरे क्षेत्रभित्र अत्यधिक मात्रामा वन विनाशका कारण गिटी बालुवा बगेर आएपछि त्रियुगाको बेड लेभल बढेको उनको तर्क छ।
चन्द्रनहरका कारण पनि उदयपुरतर्फ डुबान
तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले सप्तरीतर्फ सिँचाइ सुविधा पुर्याउने उदेश्यले विसं १९८२ मा निर्माण गरेको चन्द्रनहरका कारण पनि त्रियुगाले क्षति गर्ने गरेको उदयपुरबासीको गुनासो छ।
नहरमा पानी चढाउन सप्तकोशी नगरपालिका–१ स्थित फत्तेपुरमा खोलाभित्र निर्माण गरिएको बाँधका कारण ग्रेगर रोकिएर उदयपुरतर्फ क्षति गर्ने गरेको उनीहरूको गुनासो छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।