बिर्तामोड (झापा)– इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका १५ वर्षीय किशोर किरण कार्कीढोलीको रहस्यमय मृत्यु भएको छ।
गत चैत २९ गते मोबाइल र पैसा चोरीको अभियोगमा उनी पक्राउ परेका थिए। मेचीनगर-६ घर भएका उनको गत बैसाख १ गते राति मृत्यु भएपछि घटना बाहिरिएको हो।
प्रहरीले हिरासतको शौचालयमा झुन्डिएर आत्महत्या गरेको दाबी गरेको छ भने परिवार र आफन्तले घटना शंकास्पद भएको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले किरण बेवारिस भएकाले आत्महत्यापछि परिवारको खोजी गरिएको बताएका छन्। घटनाको छानबिन हुने पनि उनले बताए।
प्रहरीले परिवारलाई जानकारी नगराई मेची अञ्चल अस्पताल भद्रपुर लगेर शवको पोस्टमार्टम गरेको थियो। 'छोरालाई पुलिसले पक्रेको थाहा थिएन,' बाबु भन्छन्, 'अचानक उसको शव अस्पतालमा छ बुझ्न आउनु भनेपछि मलाई विश्वास नै लागेन।' झुन्डिएर मरेको भनिए पनि छोराको घाँटीमा कुनै निलडाम नदेखिएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।