काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपालचोकस्थित सुकुटे पुगेका छन्। उनी बिहीबार दिउँसो त्यहाँ पुगेका थिए। उनी सुकुटे बिच रिसोर्टमा बस्नेछन् ।
प्रचण्डसँग उनका परिवारका सदस्यका साथै सिन्धुपाल्चोक १ का सांसद अग्निप्रसाद सापकोटा लगायत छन्।
राजनीतिक तनावमा भएका बेला, शारीरिक र मानसिक तनाव बढेको बेला आराम गर्न प्रचण्ड सुकुटे पुगेका धेरै उदाहरण छन्।
यसअघि गत माघ २३ गतेमात्रै उनी त्यहाँ पुगेका थिए। भेनेजुएला प्रकरणबारे माघ ११ गते प्रचण्डले कडा विज्ञप्ति निकालेपछि आएको तरंगपछि उनी विवादमा परेका थिए। ०६९ सालमा त प्रचण्डले परिवारका बीच दसैं नै सुकुटेमा मनाएका थिए।

पछिल्लो समय तत्कालीन एमाले र माओवादीको जिल्ला कमिटीको एकताको पहल हुँदै आएको छ। जिल्ला कमिटीको नेतृत्वको विषयमा पूर्व एमाले र माओवादीबीच सहमति भइसकेको छ। तर, पूर्व एमालेकै केपी ओली र माधव नेपाल पक्षबीच सहमति बन्न सकेको छैन। त्यसैले एकता प्रक्रिया लम्बिइरहेको छ।
प्रचण्डसहित प्रधानमन्त्री ओली, रामबहादुर थापा बादल तथा विष्णु पौडेलले अघिल्लो बिहीबार चन्द्रागिरी पुगेर छलफल गरेका थिए। त्यसपछि पनि नेताहरुका बीचमा छलफल चल्दै आएको छ। तर, ठोस निकास भने निस्किएको छैन।
पार्टी एकताबारे विभिन्न विकल्पहरुमा छलफल चलिरहेको अवस्थामा प्रचण्डको सुकुटे भ्रमणले नयाँ, मध्यमार्गी र स्वीकार्य विकल्प फुराउन सक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।