बुटवल- रुपन्देहीको रोहिणी नदीमा नमुना जलभण्डारसहितको बहुउद्देश्यीय सिँचाइ आयोजना निर्माणको काम सुरु भएको छ।
झन्डै २ किलोमिटरम्म फैलिएको ड्याम सहितको सिँचाइ आयोजनाबाट सयौं हेक्टर जमिनमा सिँचाइ गर्नुका साथै पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना छ। सिँचाइका लागि बनाइने तालमा पोखरा फेवाताल बीचमा रहेको बाराही मन्दिरकै शैलीमा मन्दिर बनाइने सिँचाइ डिभिजन कार्यालय रुपन्देहीका प्रमुख टंक केसीले जानकारी दिए।
‘जहाँ डुंगा सञ्चालन गरेर मनोरम स्थल बनाउने योजना छ,' उनले भने, 'यसले दोहोरो फाइदा हुने विश्वास लिएका छौं।’
सिँचाइ मन्त्रालय अन्तर्गत झन्डै ३७ करोडको लागतमा आयोजना निर्माणको काम जारी छ। जहाँ ४ मिटर अग्लो ड्याम, १८ सय मिटर लम्बाइका दुई नहर र पानी जम्मा हुँदा छेउछाउको बस्ती सुरक्षाका लागि तटबन्ध लगायतका काम हुनेछन्।

अबको एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको करिब ६० प्रतिशत काम सकिएको प्रमुख केसीले बताए। तिलोत्तामा नगरपालिकाको वडा नं १० र ११ तथा देवदह नगरपालिकाको वडा नं २ र ३ को भूभाग अन्तरगतको रोहिणी नदीमा आयोजना निर्माण भइरहेको हो।
आवश्यक बजेट नआएकाले काम गर्न असहज भएको भन्दै समयमै बजेट आए निर्धारित मितिमै आयोजना हस्तान्तरण गरिसक्ने केसी बताउँछन्। तत्काल १५ करोडबन्दा बढी बजेट आवश्यक परेको बेला सरकारले ८ लाख मात्र बजेट पठाएको छ। थप रकमका लागि अर्थ मन्त्रालयमा माग गरिएको र सकारात्मक जवाफ आएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।