काठमाडाैं- बेलायत सरकारले नेपालका विपन्न ९० हजार नागरिकका लागि ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ सञ्चालनमा ल्याएको छ।
बेलायती नियोग डिएफआइडी, नेपालले बुधबार काठमाडौंका एक कार्यक्रमको आयोजना गरी नेपालमा ‘रोजगारीका लागि सीपमूलक कार्यक्रम’ सञ्चालनमा ल्याइएको जानकारी गराएको हो। ४ वर्षभित्र ९० हजार बढी विपन्न नेपाली नागरिकलाई सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी दिने गरी सो कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका उपप्रमुख प्रशन्न केसीले जानकारी दिए।
कार्यक्रम प्रदेश २ को धनुषा जिल्ला र प्रदेश ५ को बुटवल-भैरहवामा केन्द्रित हुनेछ। सबैभन्दा बढी विदेशिएका धनुषा जिल्ला नागरिकलाई त्यहीँ रोजगारीको अवसर सृजना हुने गरी र उद्योग धन्दाको सम्भावना बढी रहेकाले बुटवल–भैरहवामा सो कार्यक्रम केन्द्रित गरिएको पनि कार्यक्रमका उपप्रमुख केसीले बताए।
कार्यक्रमअनुसार विपन्न वर्गका नागरिकहरुलाई कृषि, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासको काममा दक्ष हुने गरी आवश्यक तालिम दिइनेछ। नेपाल सरकार, निजी क्षेत्र र सामाजिक संघ, संस्थाहरुसँगको सहकार्यमा सञ्चालन हुने सो कार्यक्रमको ५० प्रतिशत खर्च बेलायत सरकारको तर्फबाट डिएफआइडीले व्यहोर्ने छ भने बाँकि खर्च सहकार्य गरिरहेका संस्थाहरुले व्यहोर्नु पर्नेछ।
कार्यक्रमका उपप्रमुख केसीले विपन्न वर्गभित्र पनि महिला र शारिरीक रुपमा अशक्त रहेकाहरुलाई पहिलो प्राथमिकता दिने पनि स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।