काठमाडौं- नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले वाई–१२ जहाजका एक मात्रै प्रशिक्षक पाइलट (आइपी) आङनुरी शेर्पाले धोका दिएको बताएका छन्।
एयरलाइन्सकै खर्चमा आइपी पाइलट भएर अन्तत: संस्थालाई धोका दिँदै उनी अमेरिका पलायन भएको खरेलले बताएका हुन्। शेर्पाले नेपाल एयरलाइन्स छोडेर अमेरिका पलायन भएसँगै ४ वटै वाई–१२ जहाज अनिश्चितकालका लागि ग्राउन्डेड हुन पुगेको खरेलको भनाइ छ।
‘शेर्पा वाई–१२ जहाजका एक मात्रै आइपी पाइलट हुन,’ खरेलले भने, ‘नेपाल एयरलाइन्सकै खर्चका आइपी पाइलट बन्दै संस्थालाई उनले धोका दिए।’
शेर्पालाई आइपी पाइलट बनाउन मात्रै एयरलाइन्सले एक करोड रुपैयाँभन्दा बढी खर्च गरेको उनको भनाइ छ।
केही दिनअगाडि अप्रिल ३ मा चीनमा गएर पाइलट सिप परीक्षण प्रमाणपत्र (पिपीसी) नवीकरण फर्किएका थिए शेर्पा। तर, अप्रिल ११ मा बिनासूचना एयरलाइन्स छोडेर अमेरिका पलायन भएको उनको भनाइ छ।
‘पिपिसी नवीकरणमा मात्रै १० लाखभन्दा बढी खर्च भएको छ,’ खरेलले भने, ‘शेर्पाले धोका दिएसँगै वाई–१२ जहाज उडान गरिरहेका दुई सिनियर पाइलट नृपेन्द्र भट्टराई र सञ्जय वादेले समेत जहाज उडान नपाउने भएका छन्।’
नेपाल एयरलाइन्ससँग रहेका पाइलटलाई नै वाई–१२ जहाजको प्रशिक्षक पाइलट कसरी बनाउने भने विषयमा छलफल सुरु भएको उनको भनाइ छ।
शेर्पाले पिपिसी नवीकरण गरेर आएपछि पनि वाई–१२ जहाज उडान गरिरहेको पाइलट भट्टराईको रुट चेक र वादेको पिपिसी नवीकरण नगरिदिँदा उडानयोग्य तीन वटै वाई–१२ जहाज ग्राउन्डेड भएका छन्।
ग्राउन्डेड भएको वाई–१२ जहाज उडानका लागि सबैभन्दा पहिले अब आइपी पाइलट कसरी बनाउने भने विषय नै ठूलो रहेको खरेल बताउँछन्। तर उनले भने जस्तो तत्काल वाई–१२ जहाज उडानका लागि आइपी पाइलट बनाउन सहज भने देखिन्न।
‘शेर्पाको विषयमा निगम कसरी अगाडि बढ्ने र भावी दिनमा कसरी वाई–१२ उडान गर्न सकिन्छ भने विषयमा केही दिनमै निर्णय गर्नेछौं,' उनले भने।
वाई–१२ जहाज नेपाल भित्र्याएको दिनदेखि नै एयरलाइन्सकालाई सेतो हात्ती भएको थियो। अघिल्लो वर्ष मात्रै वाई–१२ जहाजबाट निगमलाई ६० करोड भन्दा बढी घाटा भएको महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा समेत उल्लेख छ।
शेर्पालाई २०७४ जेठ २१ मै एयरलाइन्समा अयोग्य ठहर हुने गरी निगम सञ्चालक समितिले बर्खास्त गरेको थियो। तर, उनले एयरलाइन्ससँग बार्गेनिङ गरेर मासिक १० लाखभन्दा बढी तलब खाँदै आएका थिए।
शेर्पालाई बर्खास्त गरिएको पत्र-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।