फाइल तस्बिर
काठमाडौं- सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि सिफारिस भएका ५ मध्ये ३ जनाविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा उजुरी परेको छ। न्यायधीशमा सिफारिस मनोज शर्माविरुद्ध नेपाल बार एशोसिएसनका पूर्वअध्यक्ष शम्भू थापाले उजुरी गरेका छन्। एक उजुरीकर्ताले प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणाले गरेका सबै नियुक्ति खारेज हुनुपर्ने जिकिरसमेत गरेका छन्।
समितिमा परेका उजुरी व्यक्तिभन्दा पनि प्रवृत्तिविरुद्ध देखिन्छन्। राजनीतिक प्रभाव, भागबन्डा, संसदीय सुनुवाई समितिको कार्यशैलीजस्ता विषयमा प्रश्न उठाइएका छन्। बुधबार उजुरीकर्ता बोलाएको सुनुवाई समितिले मंगलबार खोलेको उजुरीमा यस्तो देखिएको हो।
मनोज शर्मा अर्थात् एक प्रवृत्ति
तत्कालीन पुनरावेदन अदालतका अतिरिक्त न्यायाधीशबाट अवकाश पाएका शर्मा एकाएक सर्वोच्चमा सिफारिस हुन सफल भए। चर्चामै नरहेका शर्मा प्रधानन्यायाधीश राणाको कोटामा सिफारिस हुन सफल भएका हुन्। शर्मालाई राणाले सर्वोच्चमा आफूले हिरा टिपेर ल्याएको भन्दै बचाउ समेत गरिसकेका छन्।
सवैभन्दा धेरै र विस्तृतमा उजुरी पूर्वप्रधानन्यायाधीश दामोदर शर्माका भतिजा मनोज शर्माको नाममा रहेका छन्। शर्मालाई संसदीय सुनुवाई समितिले स्वीकार गर्न नहुने दाबी गर्दै नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष एवं बरिष्ठ अधिवक्ता शम्भु थापाले नै उजुरी हालेका हुन्।
थापाको उजुरीमा शर्माको सर्वोच्चका लागि योग्यता नै नपुग्ने उजुरीमा उल्लेख गरेका छन्। कानून व्यवसायबाट जाँदा निरन्तर १५ वर्ष सेवा गरेको र उच्च अदालतबाट जाँदा ५ वर्षको सेवाअवधि अखण्डित हुनुपर्ने भएकाले शर्माको योग्यता नपुग्ने उनले औंल्याएका छन्। यसले गर्दा उनले न्याय निरुपण गर्न नसक्ने दाबी निवेदनमा गरिएको छ।
उजुरीमा थापाले प्रश्न गरेका छन्, 'प्रस्तावित मान्छेको नाम कसरी न्याय परिषद्मा टिपियो? उनको आशंका छ, 'कानुनमन्त्री, कानूनविद् वा अध्यक्षको गठजोड थियो कि? कानूनमन्त्री मूकदर्शक बनेर बस्दा गलत निर्णय भएको पनि उनले उल्लेख गरेका छन्। उनले भनेका छन्, 'न्यायलपालिका जुनुसुकै स्थानमा पुगेपनि कुनै विशेष व्यक्तिको नाम पर्नैपर्ने अनुग्रहले यस्तो भएको हो। गणतन्त्र केही व्यक्तिको मनसुवा पूरा गर्न आएको होइन।'
न्याय गर्ने न्यायकर्मी राजनीतिक भागबन्डाबाट नियुक्ति गर्नु न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमामाथिको गम्भीर प्रहार रहेको उनको बुझाइ छ। उनले संसदीय सुनुवाई समितिमा रहेका नेकपा सांसदलाई लक्षित गर्दै भनेका छन्, 'मतदाताले सत्य र साँचो चाहेका छन्। सत्य र साँचोबाट भाग्दै गर्दा जनअभिमतबाट स्खलित हुन बेर नलाग्ने कुरामा माननीय सांसदज्युहरु विज्ञ नै हुनुहुन्छ।'
संसदीय सुनुवाईको औचित्यमाथि पनि प्रश्न
थापाले संसदीय सुनुवाईको औचित्यमाथि पनि प्रश्न उठाएका छन्। मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका व्यक्तिको बारेमा समिति निर्णयमा पुग्न नसकेकोतर्फ उनले इंगित गरेका छन्।
हालसालै सुनुवाइ समितिले सुनुवाइ नै गर्न नसकी मुस्लिम आयोगको अध्यक्ष नियुक्ति गरिएको स्मरण गराउँदै उक्त काम संविधानको भावना र मर्ममाथि चोट भएको जनाएका छन्। यो विषयमा पनि त्यस्तै अवस्था सिर्जना नगर्न उनले अनुरोध गरेका छन्। शर्मालाई सुनुवाईबाट अस्वीकृत गर्न थापासँगै अधिवक्ता पूर्ण राजवंशीले उजुरी हालेका छन्।
प्रकाश ढुङ्गानाविरुद्ध २ थान उजुरी
उच्च अदालत पाटनको मुख्य न्यायाधीशबाट सर्वोच्चको स्थायी न्यायाधीशमा सिफारिस भएका प्रकाश ढुङ्गाना विरुद्ध दुई जनाले उजुरी दर्ता भएको छ।
ढुङ्गानाविरुद्ध पञ्चकन्या ग्रुपका तत्कालीन लेखापाल योगेन्द्रमणि दाहालको मुद्दामा ६० लाख रुपैयाँ घुस लिएर सेटिङमा फैसला गरिएको उजुरीमा उल्लेख छ।
न्यायिक विचलन भएको व्यक्तिलाई कारबाही गर्नुको सट्टा सर्वोच्चमा स्थायी न्यायाधीश तत्कालीन पुनरावेदन पाटनको रजिष्ट्रार हुँदा रकम लिएर बढुवामा गढबढ गरेको भन्दै अदालतका कर्मचारीले नै उजुरी हालेका छन्।
उजुरीमा उनले आफूसँगै समक्ष रहेको तर कनिष्ठलाई रकम लिएर बढुवा गरेको उजुरीमा उल्लेख छ।
हरि फुयाँलविरुद्ध एक थान उजुरी
सर्वोच्च अदालतको प्रधानन्यायाधीश लामो समय हुने गरी सिफारिसमा परेका अधिवक्ता हरि फुयाँलविरुद्ध एक जनाले उजुरी गरेका छन्। फुयाँलमाथि मौलिक हकसम्बन्धी एक मुद्दाका गरेको फैसला उल्टाउने प्रयास गरेको भन्दै सुनुवाईबाट अस्वीकृत गर्न आग्रह गरिएको छ।
उजुरीकर्ताले फुयाँल विवादास्पद, आयोग्य र असक्षम भएको दावी गर्दै उजुरी दर्ता गराएका छन्।
प्रधानन्यायाधीश राणाविरुद्ध पनि उजुरी
संसदीय सुनुवाई समितिमा सिफारिस भएका न्यायाधीश बाहेक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध पनि उजुरी दर्ता भएको छ। राणाले अनियमितता गरेको भन्दै २०६८ फागुन ३ गते सर्वोच्च अदालतले उनका विषयमा न्याय परिषदमा लेखी पठाउने निर्णय गरेको उल्लेख गरेका छन्।
यस्ता थुप्रै विषयमा राणाविरुद्ध निर्णय भएको जिकिर गर्दै उनको सिफारिस रद्द गरी न्यायाधीश नियुक्ति रोकिदिन अनुरोध गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।