काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफूलाई छोडेर भैरहवाबाट बुद्ध एयरलाइन्सले उडान गरेको भनी दिएको अभिव्यक्तिको उक्त एयरलाइन्सले खन्डन गरेको छ।
एयरलाइन्सले मन्त्रीका लागि ३०–३५ मिनेट उडान रोकेको भए जहाज भैरहवामै बस्नुपर्ने भएको समेत जनाएको छ। जहाज मन्त्रीका लागि कुरेर बस्दा उडान नहुने अवस्था आउने र अन्य ६८ यात्रुले सास्ती भोग्नुपर्ने समेत बुद्ध एयरको भनाइ छ।
एयरलाइन्सका अनुसार बैसाख २ गते काठमाडौं–भैरहवाको उडान नं ८५७ ले ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले बेलुका ७ बजे उडान भरेको थियो भने अवतरण ७ बजेर ३२ मिनेटमा भएको थियो। काठमाडौंबाट उड्नेबित्तिकै भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्री र उनको टोली सो उडानबाट नजाने र बैसाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गरेको बुद्धले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने बाध्यता रहेको समेत बुद्ध एयरको भनाइ छ।
‘सोही अनुरुप सबै यात्रुहरुलाई विमानमा बसालिसकेका थियौं। त्यसको केही क्षणमै सहायक प्रमुख जिल्ला अधिकारीले फोन गरेर उडान रोक्नु, मन्त्रीज्यू र उहाँको टोली करिब २०–२५ मिनेट दुरीमा रहेको होटल टाइगर प्यालेस रिसोर्टबाट हिँड्नुहुने भन्ने जानकारी दिनुभयो। यदि अर्को ३०–३५ मिनेट कुर्नु परेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउन सक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नु पर्थ्यो’, बुद्धले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
व्यवस्थापन निर्णय अनुसार सो उडान बाध्यात्मक कारणले राति ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडेको बुद्ध एयरले उल्लेख गरेको छ।

मंगलबार बिहान प्रेस चौतारीले मणिग्राममा आयोजना गरेको पत्रकार सम्मेलनमा भने मन्त्री बास्कोटाले बुद्ध एयरले गर्दा आफूले दु:ख पाएको बताएका थिए। 'बुद्ध एयर भन्नेले गर्नुगर्यो,' उनले भनेका थिए, 'सुरुमा प्लेनले निकै ढिला गर्यो। ढिला भएपछि हामीले क्यान्सिल गरेर एयरपोर्टको बाटो हुँदै होटल पुग्यौं। पछि जहाज आएपछि जान्छौं भन्दा हामीलाई जानकारी नै नदिई जहाज काठमाडौं उड्यो भनियो। नयाँ वर्षमा लुम्बिनी जस्तो पर्यटकीय स्थलमा यस्तो हालत छ, उडाउँछु भनेर यात्रुलाई अलपत्र पार्ने!’
मन्त्री बास्कोटाले यस्ता एयरलाइन्सले जनतालाई कति सास्ती दिएका होलान् भन्दै असन्तुष्टि पोखेका थिए। 'कसरी पर्यटन प्रवर्द्धन हुन्छ, तपाईंहरु लेखाजोखा गर्नुस् त,' उनले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।