तस्बिर: प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालकाे ट्विटरबाट
काठमाडौं– राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ 'ब्रेक–थ्रू' भएको छ।
नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिकाे प्रयाेग गरी निर्माण भएकाे उक्त सुरूङको मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा 'ब्रेक-थ्रू' गरिएको हो।
सुरुङ निर्माणको जिम्मा चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले पाएको थियो। आगामी २०७६ चैत १५ सम्म सक्नुपर्ने भनिएको सुरुङको निर्माण एक वर्ष अगाडि नै पूरा भएको हो।
बबई नदीको किनारमा रहेको हात्तीखालबाट भेरी किनारको चिप्लेसम्मकाे चुरे पर्वत छिचाेलेकाे सुरुङ १२ किलोमिटर २ सय १० मिटर लामो छ। २०७४ कात्तिकदेखि टिबिएम प्रविधिकाे प्रयाेग गरी सुरूङ खन्न थालिएको थियो।

आर्थिक वर्ष २०६८/६९ बाट सुरु भएको यस आयोजना आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गर्ने लक्ष्य थियो। तर, तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ। कुल १६ अर्ब ४३ करोड रुपैयाँ लागतमा सकिने भनिएको आयोजनाको लागि झन्डै दोब्बर लगानी लाग्ने देखिएकाे छ।
आयोजनाबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ। साथै, ४६ मेगावाट बिजुली उत्पादन पनि हुनेछ।
'ब्रेक-थ्रू' कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित थिए।
आजै सुर्खेत आएका प्रधानमन्त्री ओलीले यसपछि सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।