एजेन्सी– इरान र इराकको उत्तरी सीमा नजिक आइतबार राति गएको ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको संख्या ३ सय ९६ पुगेको छ। यो संख्या अझ बढ्न सक्ने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।
अन्तर्राष्ट्रिय मिडियाहरुले यसलाई वर्षकै ठूलो विपत् भएको बताएका छन्। भूकम्पमा ७ हजारभन्दा बढी घाइते भएका छन्। इरानको सरकारी समाचार एजेन्सी इर्नाले इरानमा मात्र ६ हजार ६ सय ३ जना घाइते भएको बताएको छ।
इरानको पश्चिमी केर्मान्साह प्रान्तमा सबैभन्दा बढी मानवीय क्षति भएको बताइएको छ।
सीमाक्षेत्रदेखि १५ किलोमिटर नजिकै सार्पोल–ए–जहाबमा भूकम्पले बढी प्रभाव पारेको छ। सो शहरको मुख्य अस्पतालको भित्ता चारैतिर चर्किएको छ।
दातृ संस्थाहरुले ७० हजार मानिस पूर्णरुपले प्रभावित बनेको र उनीहरुलाई सुरक्षित बासस्थानको आवश्यकता रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।