काठमाडौँ – नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ ले आज कामपा–३२ स्थित कोटेश्वर महादेव मन्दिरमा पूजा गरी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार अभियान शुरु गरेको छ।
प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वसांसद दीपकप्रसाद कुइँकेल तथा उम्मेदवार प्रदेशसभा २ (क)का लोकेश ढकाल, प्रदेशसभा २ (ख) मनहरि खड्का र समानुपातिककी प्रतिमा गौतमले महादेवको पूजा गर्दै घरदैलो अभियानको प्रारम्भ गरेका हुन्।
कार्यक्रममा कांग्रेस नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे, काठमाडौँ जिल्ला सभापति सबुज बानियाँ, २ नं क्षेत्रीय सभापति उपेन्द्र कार्की, कामपा ९ नं वडा समिति सभापति भीमार्जुन आचार्य र वडा नं ३२ सभापति सुभाषचन्द्र पराजुली, प्रदेश समन्वय समितिका संयोजक शिक्षित पराजुलीलगायतले काँग्रेसले प्रजातान्त्रिक मूल्यमान्यताको रक्षाका लागि निर्वाचन जित्नैपर्नेमा जोड दिए।
मंगलबार बिहान कामपा वडा नं ९ को घरदैलो कार्यक्रम बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा रामको पूजा गरी शुरु गरिने प्रचारप्रसार समितिका संयोजक कार्कीले जानकारी दिए।
सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपाल प्रतिष्पर्धामा छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।