काठमाडौं– लोकसभा निर्वाचनको दोस्रो चरण नजिकिँदै गर्दा भारतीय निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गर्न थालेको छ।
सोमबार आयोगले विवादित भनाइ आएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीकी प्रमुख मायावतीको प्रचारमा रोक लगाउने निर्णय गरेको छ। आयोगले मुख्यमन्त्री योगीलाई ७२ घन्टा र मायावतीका लागि ४८ घन्टे प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यो प्रतिबन्ध मंगलबार बिहान ६ वजेदेखि सुरु हुनेछ। यो प्रतिबन्ध कडाइका साथ लागू गर्नसमेत आयोगले भनेको छ।
आयोगले दुवैलाई चुनावी र्याली गर्नसमेत प्रतिबन्ध लगाएको छ। उनीहरुलाई पाँच विषयमा आयोगले रोक लगाउने निर्णय गरेको छ। चुनावी सभा, टेलिभिजन अन्तर्वार्ता, राजनीतिक ट्विट, सार्वजनिक कार्यक्रममा सहभागिता र सडक प्रर्दशनमा रोक लगाउने निर्णय आयोगले गरेको हो।
यी दुवै नेता चुनावी प्रचारका लागि सामाजिक सञ्चालमा समेत सक्रिय भएकाले आयोगले त्यसमासमेत रोक लगाएको छ।
राहुल गान्धीको केरला रोड शोमा मुस्लिम लिगको झन्डा प्रदर्शन भएको भन्दै त्यसलाई योगीले देशको भाइरस भनेर टिप्पणी गरेका थिए। मायावतीले पनि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि व्यक्तिगत टिप्पणी गरेपछि आयोगले यस्तो निर्णय लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।