'केही मिटरको दुरीमा रहनुभएका सहकर्मीलाई हेर्दाहेर्दै विमानले किच्याे'

नेपाल लाइभ | २०७६ बैशाख २ सोमबार | Monday, April 15, 2019 १३:४८:०० मा प्रकाशित

सोलुखुम्बु- नयाँ वर्ष २०७६ को पहिलो दिन बैसाख १ गते बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको क्रम चलिरहेको थियो। तर, त्यहीबेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको विमान दुर्घटनाको खबरले अधिकांश दुखित भए।

पर्यटक आउने याम भएकाले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला याे समय निक्कै व्यस्त रहन्छ। आइतबार पनि बिहानैदेखि उडान तथा अवतरण चलिरहेका बेला ९:२२ मा समिट एयरकोे '९ एन–एएमएच' विमान दुर्घटनामा पर्‍योे। प्रत्यक्षदर्शी प्रहरी निरीक्षक देउप्रसाद लिम्बूका अनुसार धावनमार्गको दायाँ भागमा रहेको हेलिकोप्टर पार्किङस्थलमा मनाङ एयरको हेलिकोप्टर अवतरण भएको केही मिनेटमै एउटा विमान उडेको थियो। त्यतिबेलासम्म समिट एयर रन-वेको बायाँपट्टी रहेको पार्किङस्थलमा नै उड्नका लागि तयार भएको थियो।

लुक्लाबाट पर्यटक लिन रामेछापको मन्थली विमानस्थल उड्न लागेको विमान धावन मार्गको २ सय मिटर पर पुगी एक्कासि दायाँतिर मोडियो र पार्किङ गरी राखिएको मनाङ र श्री एयरको हेलिकोप्टरमा ठोक्किन पुग्दा दुर्घटना भएको प्रहरी निरीक्षक लिम्बूले बताए।

'बिहानैदेखि हामीसँगै थियाैं', लिम्बूले भने, 'प्रहरी नायब निरीक्षकद्वय रामबहादुर खड्का र रुद्र श्रेष्ठ केही मिटर तल हुनुहुन्थ्यो, हामी पनि त्यतै जाँदै थियौं, विमानको आवाज अलि फरक खालको सुनियो र फर्केर हेर्दा हामीतिरै विमान आउँदै गरेकाले माथिल्लो कुनातिर लाग्याैं, तर उहाँहरू पछाडि नफर्किएकाले हुनसक्छ दुबैलाई किच्दै हेलिप्याडमा पुगेर त्यहाँ रहेको हेलिकोप्टरलाई समेत क्षति पुर्‍यायो, हामी तत्काल उद्धारमा जुट्यौं।'

प्रहरी निरीक्षक लिम्बूका अनुसार खड्काको तत्काल मृत्यु भएकाे थियाे भने श्रेष्ठकाे अवस्था गम्भीर थियाे।

'केही मिटरको दूरीमा रहनुभएका सहकर्मीलाई हेर्दाहेर्दै विमानले किच्याे, सेकेण्डमै मृत्यु भयो', भावुक मुद्रामा रहेका उनले केहीबेर राेकिए र भने, 'तत्काल उद्धारमा खटियौँ, घाइतेलाई ५ मिनेटमै काठमाडौं पठायौं, अनि मृतकलाई केही समयपछि।'

दुर्घटनामा समिट एयरका सहचालक काठमाडौंको चावहिलका ३४ वर्षीया सुजित ढुङगाना, दोलखा घर भई लुक्लास्थित पर्यटन प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ३९ वर्षीय रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएकाे थियाे। भोजपुर जिल्ला घर भएका प्रहरी नायब निरीक्षक ४२ वर्षीय रुद्र श्रेष्ठको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हाे। खड्का पर्यटक प्रहरी कार्यालय लुक्लाका प्रमुख थिए भने श्रेष्ठ विमानस्थल सुरक्षा गार्ड प्रमुख थिए।

'उहाँहरु बिहानैदेखि विमानस्थलको सुरक्षाको लागि अन्य सहकर्मीसहित खटिनुभएको थियाे', लिम्बूले भने।

आफू नाम्चे इलाका प्रहरी कार्यालयकाे प्रमुख भएपनि वसन्त ऋतुको यो याममा पर्यटकको चाप अत्याधिक हुनेभएपछि लुक्ला विमानस्थलमै खटिने गरेको उनको भनाइ थियो।

विमानस्थलमा खटिएका प्रहरीले बिहानैदेखि खानासमेत नखाइकन दिउँसो उडान तथा अवतरण बन्द नभएसम्म बस्नुपर्ने हुन्छ। त्यसैले आइतबार बिहान पनि सबैजना भोकै रहेको लिम्बूले सुनाए।

'चियासमेत नखाइकन सुरक्षामा बसेको साथीको ज्यान गयो', मृत्युलाई नजिकैबाट अनुभव गरेका उनले भने, 'भाग्यले बाँचियो, मेरै आखाँ अगाडि केही मिटरको फरकमा दुई सहकर्मी गुमाउनुपर्दा ज्यादै दुःख लागेको छ, तत्काल उद्धारमा लागिएकाले त्यसबेला केही महसुस भएन तर अहले नयाँ जिन्दगी पाएछु जस्तो लागिरहेको छ।'

'मैले नयाँ जीवन पाएँ, घाइतेले पनि नयाँ जीवन पाए भन्दा फरक पर्दैन', लिम्बूकाे अनुहारमा केही सुखानुभूतिका धर्साहरु देखिए।

घाइते हुनेमा काठमाडाैं कालिमाटी घर भएका समिट एयरका चालक रविनाथ रोकाय, ललितपुर उपमहानगरपालिका भैैसेपाटी निवासी मनाङ एयरका चालक ४८ वर्षीय चेतबहादुर गुरुङ, मनाङ एयर लुक्लाका स्टेसन म्यानेजर खुम्बुपासाङ ल्हामु गाउँपालिका-२ का ४३ वर्षीय लाक्पा छिरिङ शेर्पा र मनाङ एयरकै कर्मचारी खुम्बुपासाङ ल्हामु गाउँपालिका-२ का ५५ वर्षीय स्याङ्बुचे कार्की रहेको प्रहरीले जनाएको छ।

जोखिमपूर्ण विमानस्थलमध्ये एक मानिने लुक्ला विमानस्थलको रन-वेको लम्बाई सामान्य विमानस्थलको भन्दा निकै कम (५२७ मिटर) मात्र रहेको छ। रासस

स्वर्ण रजत कास्य जम्मा
भारत
६२ ४१ २१ १२४
नेपाल
३६ २७ ३८ १०१
श्रीलंका
१७ ३५ ५५ १०७
पाकिस्तान
१५ २३ २४ ६२
बंगलादेश
११ ४५ ६०
माल्दिभ्स
भुटान