१ सय ६९ स्थानमा सशस्त्रको युनिट राख्न माग, बिओपीको संख्या २ सय ६५ पुर्‍याइने

नेपाल लाइभ | २०७६ बैशाख २ सोमबार | Monday, April 15, 2019 १३:३९:०० मा प्रकाशित

काठमाडौं- सशस्त्र प्रहरी बल (एपिएफ) को युनिट थप १ सय ६९ स्थानमा राख्न माग भएको छ। विभिन्न आयोजना, कार्यालय तथा स्थानीयहरुले सशस्त्र प्रहरी बलको आवश्यकता रहेको भन्दै सशस्त्र प्रहरीको युनिट राख्न माग गरेका हुन्।

सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आइजिपी शैलेन्द्र खनालले आफ्नो एक वर्षे कार्यकालमा भएका कामकारबाहीहरुको जानकारी दिनेक्रममा सो कुरा बताएका हुन्।

विभिन्न राष्ट्रिय गौरवका आयोजना तथा सार्वजनिक आयोजनाहरु तथा हाइड्रोपावरमा विशेषगरी सशस्त्रको युनिट राख्न माग भएको उनले बताए।

तर, जनशक्ति अभावका कारण तत्कालै युनिट थप गर्नसक्ने अवस्था नरहेको उनले बताए। ३७ हजार १ सय १७ जना फौज रहेको एपिएफमा ७७ वटै जिल्लामा युनिटहरु छन्। ६० जिल्लामा स्थायी युनिट छन् भने १७ जिल्लामा अस्थायी युनिटहरु छन्।

यसभन्दा अघि ५८ जिल्लामा मात्रै सशस्त्रको उपस्थित थियो। जसमा ४५ जिल्लामा स्थायी र १३ जिल्लामा अस्थायी कार्यालय थिए।

५ बाहिनीमा ३ वटा थप गरी ८ बाहिनी बनाइएको छ। ५ तालिम शिक्षालयलाई ६ वटा प्रतास्वित तालिम शिक्षालय थप गरी ११ बनाइएको छ। २७ गणमा ९ वटा थप गरी २७ बनाइएको छ।

बिओपीको संख्या २ सय ६५ पुर्‍याइने

बोर्डर आउट पोस्ट अर्थात बिओपीको संख्या पनि थप गरी २ सय ६५ पुर्‍याइने आइजिपी खनालले बताए। सीमा नाकाबाट हुने तस्करी, सीमाको सुरक्षा, सीमामा हुने अपराधका घटना रोक्ने काम सशस्त्र प्रहरी बलको बिओपीले गर्दै आएको छ।

हाल १ सय ६ स्थानमा सशस्त्रका बिओपी छन्। थप १ सय ५९ स्थानमा बिओपी थप गरी २ सय ६५ पुर्‍याइने आइजिपी खनालले बताए।

यसभन्दा अघि ८७ स्थानमा बिओपी थिए। यो एक वर्षको अवधिमा १९ वटा थप गरी १ सय ६ पुर्‍याइएको थियो। बिओपीको स्थापना र कमाण्डरको परिचालन पनि सहज बनाइएको सशस्त्रले जनाएको छ।