काठमाडौं- आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको छ। दिल्लीले आइतबार राति सकिएको खेलमा सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन जोड्यो। उसका लागि कप्तान श्रेयर एयरले ४५ रन जोडे भने कोलिन मुनरोले ४० रनको योगदान दिए। बलिङमा हैदरावादका खलिल अहमेदले ३ विकेट लिए। भुवनेश्वकर कुमारले २ विकेट हात पारे।
१ सय ५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा १ सय १६ रनमा अलआउट भयो। राम्रो सुरुवात गरेको हैदरवादले पछिल्लो ८ विकेट १५ रन बनाउन गुमाएको थियो। जोनी बिस्ट्रले ४१ रन र डेभिड वार्नरले ५१ रन जोड्दै हैदरावादलाई राम्रो सुरुवात दिलाएका थिए। तर त्यसपछिका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
१७ ओभरमा कागिसो राबाडाले २ र १८ ओभरमा क्रिस मोरिसले ३ विकेट लिँदा हैदरावाद धरापमा परेको थियो। बलिङमा राबाडाले ४ विकेट लिदा मोरिस र किमो पाउलले ३-३ विकेट लिए।
लिगमा दोस्रो स्थानको दिल्लीले ८ खेलबाट १० अंक जोडेको छ। शीर्ष स्थानको चेन्नईको १४ अंक छ। हैदरावाद ६ अंकसहित छैटौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।