नयाँ वर्षकै दिन खाडी हिँडेका कामदार भन्छन्- खुसी कमाएर फर्कन्छु

निर्मला घिमिरे | २०७६ बैशाख १ आइतबार | Sunday, April 14, 2019 १९:५०:०० मा प्रकाशित

काठमाडौं– नयाँ वर्ष २०७६को सुरुवात। अर्थात् बैसाख १ गते।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष बाहिर युवाहरूको भिड देखिन्थ्यो। त्यही भिडमा भेटिए मोरङका अजित कुमार ताजपुरिया। 

उनको अनुहार मलिन थियो।  

वैदेशिक रोजगारको लागि कतार जाँदै रहेछन् उनी।

‘नयाँ सालमा नयाँ यात्रामा हिँडियो,’ कुराकानीको क्रममा उनले भने।

भर्खर १९ वर्षमात्र पुगेका ताजपुरिया विदेश जानु बाध्यता भएको बताउँछन्। ‘पारिवारको आर्थिक स्थिति कमजोर छ। नेपालमा गरेका कामले व्यवहार टार्न नसकिने भइयो। अनि विदेश रोजेँ,’ हतास हुँदै उनले भने।

नयाँ वर्षकै पहिलो दिन फ्लाइट परेको कारण उनी खिन्न छन्।  भन्छन्, ‘परदेशको यात्रामा हिँडेको छु। खुसी कमाएर फर्कन्छु।’ 

अजितको यो पहिलो विदेश अनुभव हो। भन्छन्, ‘पहिलो पटक भएर होला। नौलो अनुभव भइरहेको छ।’  

उनीसँगै झोला र हातमा पासपोर्ट बोकेर उभिइरहेका थिए मोरङकै गणेश कुमार ताजपुरिया। आजैको दिन उनको फ्लाइट परेको थियो। नयाँ वर्ष मनाउने इच्छा हुँदा पनि मनाउन नपाउँदा भने गणेश उदास थिए। 

उनको यो दोस्रो वैदेशिक अनुभव हो। उनका अनुसार उनी दुई वर्षअघि मलेसियाबाट फर्किएका थिए।

मलेसियामा राम्रो कमाइ नहुने भएपछि नेपाल फर्कनुपरेको उनी बताउँछन्। ‘कतारमा भने राम्रो कमाइ हुने आशा जागेको छ,’ उनी भन्छन्।

स्वयम्भुका इशान लामा पनि वैदेशिक रोजगारीका लागि आइतबार विमानस्थल बाहिर उभिइरहेका थिए। आफन्तहरूसँग प्रस्थान कक्षको बाहिर उभिरहेका थिए उनी। 

यसअघि कुवेत पुगेर फर्किएका उनी पुन श्रम स्वीकृति लिएर कुवेत नै जाँदै थिए। 

‘अघिल्लो वर्ष सोचेजस्तो भएन, यसपालि सोचेजस्तो होस् भन्ने आशामा गरेको छु।’

नयाँ वर्षकै दिन विदेश जानुपर्दा उनमा भने गुनासो छैन। भन्छन्, ‘फ्लाइट यही दिन पर्यो, आफन्तसँग बसेर नयाँ वर्ष मनाउन त पाइएन। तर पनि दुःखी छैन।’ 

वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको रोजाइमा कतार, साउदी, युएई, ओमन, बहराइन, कुवेत, जापान, कोरिया लगायतका मुलुक रहेका छन्। 

कतारमा सबैभन्दा बढी नेपाली युवा रोजगारीका लागि जाने गरेका छन्। 

२०७५ सालमा वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक व्यक्तिगत तथा संस्थागत रुपमा श्रम स्विकृति लिएर जाने श्रमिकहरू ५ लाखभन्दा बढी रहेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ। 

देशमा भनेजस्तो काम र कमाई नहुँदा वैदेशिक रोजगारीमा जानैपर्ने कतिपय नेपाली युवाहरुको बाध्यकारी अबस्था बनेको छ। 

जसमा पनि वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू ७० प्रतिशतभन्दा बढी अदक्ष छन्।