तस्बिर : साेलु एफएम
काठमाडौं- आन्तरिक उडानमा दुई वर्षअघि गोमा एयर (नाम परिर्वतन भई समिट एयर भइसकेको) नेपाल भित्र्याएको जहाज दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएका छन्।
लुक्लाबाट रामेछापका लागि उड्न लागेको बेला समिट एयरको जहाज आइतबार बिहान ९ बजेर २२ मिनेटमा लुक्ला विमानस्थलको रन-वेबाट चिप्लिँदा दुर्घटना भएको थियो। जहाज चिप्लिएर दायाँपट्टीको हेलिप्याडमा रहेको हेलिकोप्टरसँग ठक्कर खान पुगेको थियो।
दुर्घटनामा विमानका को–पाइलट र दुई प्रहरी असईले ज्यान गुमाएका छन्। जहाज दुर्घटनाकै परी समिट एयरका पाइलट र मनाङ एयरका पाइलटसहित ४ जना घाइते भए।
एक प्रहरी असईको भने उपचारका क्रममा ग्रान्डी अस्पतालमा निधन भएको छ।
लुक्ला विमानस्थलमा आइतबार बिहान दुर्घटना भएको समिट एयरको 'नाइन एमएएच कलसाइन'को 'एलइटी एल–४१० ट्विन इन्जिन' भएको विमान विदेशी आकाशमा चार वर्ष उडेपछि नेपाल ल्याइएको थियो।
जहाज १८ सिट क्षमताको हो। समिटले यो जहाज नेपाल ल्याउनुअघि रुस र चेक गणतन्त्रमा समेत २/२ वर्ष उडान गरिसकेको थियो।
समिटले यो जहाज नेपाल ल्याउँदै २०१७ मार्चदेखि आन्तरिक उडानमा पनि दुर्गम क्षेत्रमा हवाई सेवा प्रदान गर्दै आएको थियो। सन् २०१४ देखि २०१६ सम्म यो जहाजले रुसमा उडान भरेको थियो। त्यसअघि भने यो जहाजले चेक गणतन्त्रमा उडान भरेको नेपाल नागरिक उड्डयन प्राधिकरको अभिलेखमा उल्लेख छ।
हवाई सेवा प्रदायक कम्पनीले १५ वर्ष उडान पूरा नभएका जहाज नेपाल ल्याउने पाउने नियमकै कारण तत्कालीन गोमा एयरले यो जहाज नेपाल ल्याएको थियो।
समिटको जहाज दुर्घटनासँगै २ वटा एयरको हेलिकोप्टरमा समेत क्षति पुगेको छ। जहाज दुर्घटना हुँदा मनाङ एयरको हेलिकोप्टर पूर्णरुपमा क्षति भएको थियो भने श्री एयरको जहाजको केही पार्टपूर्जा ड्यामेज भएको थियो।
साथै जहाज दुर्घटना हुँदा जहाजमा चालकदलका ३ सदस्य मात्रै रहेका भएपनि विमानस्थलको सुरक्षामा खटेका २ असई चेपिएर ज्यान गुमाएका थिए।
काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच परिर्वतनको काम सुरु भएसँगै चतै १८ गतेदेखि समिट, सिता र तारा एयरले रामेछापको मन्थलीबाट लुक्ला उडान भर्दै आएका थिए। आइतबार बिहान पनि दुर्घटना भएको जहाजले रामेछापबाट यात्रु लिएर लुक्ला गएको थियो। यात्रु झारेर फेरि रामेछाप आउन लाग्दा जहाज रनवेबाट चिप्लिएर दुर्घटना भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।