सरकारले जनवादी केन्द्रीयता लाद्न खोज्यो : नेता सिंह

नेपाल लाइभ | २०७५ चैत ३० शनिबार | Saturday, April 13, 2019 १२:१७:०० मा प्रकाशित

राजविराज– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले जनवादी केन्द्रियता लाद्न खोजेको आरोप लगाएका छन्। 

 प्रेस युनियन सप्तरीद्वारा शनिबार राजविराजनमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारका यस्ता असंवैधानिक कदमविरुद्ध एकजुट भएर उभिनुपर्ने बताए। प्रधानमन्त्रीमा असीमित अधिकार केन्द्रित गर्नु र सेना परिचालनको एकलौटी अधिकार दिन खोज्नुले सरकारको नियतमाथि नै शंका उत्पन्न भएको उनको भनाइ छ। ‘अन्य मन्त्रालयका काम पनि प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरिँदैछ। यो राम्रो होइन,’ नेता सिंहले भने, ‘सुरक्षा परिषद्ले निर्णय गरेर राष्ट्रपतिले सेना परिचालन गर्ने विधि र परम्परालाई किन एकलौटी पार्नुपर्‍यो?’

'सरकारले भ्रष्टाचार संस्थागत गर्‍यो'
नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए। ‘दुई तिहाइको वर्तमान सरकारसँग जनताको ठूलो अपेक्षा थियो। विकास निर्माण, सुशासन र शान्ति सुरक्षा जनताको चासो हो,’ उनले भने, ‘तर, ती सबै क्षेत्रमा सरकारले जनताको चित्त बुझाउन सकेको छैन।’ 

सरकारले ठिक ढंगले काम नगर्दा प्रदेश र स्थानीय तहले पनि काम गर्न नसकेको भन्दै उनले आलोचना गरे। ‘प्रादेशिक कानुन तयार नहुँदा तीनै तहका सरकारले समान रुपले काम गर्न सकेका छैनन्,’ उनले भने, ‘कानुन बनाएर अधिकार प्रत्यायोजन गर्ने विषयमा सरकार गम्भीर भएन। गाउँ–गाउँमा सिंहदरबार भनेको यही हो?’

मुलुकमा सुशासन नभई कुशासन चलिरहेको आरोप लगाउँदै उनले सरकारले नै भ्रष्टाचारलाई संस्थागत गरिहेको बताए। 'सानातिना कुरा मात्र होइन, वाइडबडी, सुनकाण्ड लगायतका कुरालाई समेत बेवास्ता गरिँदैछ, यसले शुसासनको संकेत गर्दैन,' नेता सिंहले भने।

सरकारले कर्मचारी समायोजनको विषयलाई पनि ठिकसँग नगरेकै कारण डाक्टहरु आन्दोलनमा उत्रेको उनको तर्क छ। 

'भएको पैसा पनि खर्च भएन'
सरकारले विकास निर्माणका कामलाई गति दिन नसकेको र भएको रकम समेत खर्च गर्न नसकेको उनले जिकिर गरे। ‘सरकारको असफलता उसकै तथ्यांकले बोलिरहेको छ। समृद्ध नेपाल सुखी नेपालीको नारा नारामै सीमित छ,' उनले भने, 'बहुवर्षीय परियोजना पनि असफल भइरहेको छ।'

एक वर्षको अवधिमा लोकप्रिय नारा दिएर हल्ला गर्ने काम मात्रै भएको उनले बताए। सरकारले आयोजना गरेको लगानी सम्मेलन पनि हल्ला मात्रै उनको उनको भनाइ थियो। ‘आन्तरिक लगानीकर्तालाई उचित वातावरण दिन नसकेका बेला लगानी सम्मेलनको सार्थकता कति हुन्छ? बाहिरको लगानी ल्याउनका लागि त पहिला वातावरण बनाउनुपर्‍यो नि।’