एजेन्सी– भारतमा लोकसभा चुनाव चलिरहेको छ। हिजो अप्रिल ११ मा पहिलो चरणको चुनाव सम्पन्न भएको छ भने अरु ६ चरणका चुनाव हुन बाँकी नै छन्।
सदा झैं यो चुनावमा पनि बलिउड कलाकारले चुनावी माहोल तताएका छन्। कयौं दिग्गज कलाकारले भारतीय राजनीतिमा सफलता हासिल गरिसकेका छन् भने कतिपय कलाकार भर्खर राजनीतिक करिअर सुरु गर्दै छन्।
यो चुनावमा चर्चाको शिखरमा छिन्, भारतीय अभिनेत्री उर्मिला मातोंडकर। लामो समयदेखि फिल्मबाट टाढा रहेकी उर्मिला हालै भारतीय कांग्रेस पार्टीमा प्रवेश गरेकी हुन्। उनलाई कांग्रेसले मुम्बईको नर्थ सिटमा संसदीय उम्मेदवार बनाएको छ।
हाल उर्मिला मुम्बईका कांग्रेस अध्यक्ष मिलिन्द देवडाको साथमा आफ्नो चुनावी क्षेत्र बोरिबलीमा प्रचार प्रसारमा जुटेकी छिन्। उनले सशक्त रुपमा प्रचार गरिरहेको एजेन्सीहरुले जनाएका छन्।
बलिउडमा ‘रंगिला गर्ल’ को नामले समेत परिचित उर्मिला भारतीय जनता पार्टीका दिग्गज नेता गोपाल सेट्टीसँग प्रतिस्पर्धा गर्दैछिन्। उर्मिलाले आफ्नो सम्पत्ति लगभग सवा ६८ करोड घोषणा गरेकी छिन् भने उनीविरुद्ध कुनै आपराधिक आरोप लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।