बाँके- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको संख्या न्यून हुन पुगेकाे छ। कर्मचारी समायोजनपछि हाल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्तिकाे संख्या निक्कै कम हुन पुगेकाे बताइएकाे छ।
भेरी अस्पताल कार्यरतमध्ये ३५ कर्मचारी केन्द्रमा समायोजन गरिएका छन्। जसअन्तर्गत २७ स्टाफ नर्स र २ नर्सिङ अधिकृतसहित ८ जना संघमा परेका छन्। अन्य १९ जनालाई प्रदेशमा समायाेजना गरिएकाे अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले जानकारी दिए।
बुधबारदेखि नर्स र ल्याव कर्मचारीविहीनजस्तै भएको अस्पतालका निमित्त प्रमुख अधिकारीले बताए। अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले शय्या थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अवस्थामा समायोजनका नाममा भएका कर्मचारी पनि प्रदेशमा पठाउँदा अस्पताल नर्स तथा ल्याव कर्मचारीविहीनझैं हुनपुगेको उनले जानकारी दिए।
उनका अनुसार अस्पतालमा रहेको ४३ नर्सको दरबन्दीमा अहिले करीब २६ नियमित सेवामै थिए। 'केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा हुनुहुन्छ। भएका नर्समध्ये मन्त्रालयले अहिले १९ जना भन्दा बढीलाई प्रदेशमा पठाएको छ', उनले भने, अब हामीसँग ८ जना मात्रै नर्स सङ्घमा रहनुभएको छ। गुणस्तरीय सेवा प्रवाह गर्न कठिन भइरहेको छ।'
सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा ६ जनासम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ सम्म बिरामी हेर्नुपर्ने अवस्था छ। ल्यावमा रहेका सबै ६ जना कर्मचारी प्रदेशमा गएपछि भेरी अस्पतालको ल्याव पनि खाली भएको उनले बताए। सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।