काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने १० वर्षमा नेपालमा धेरै रेकर्डहरु बन्ने दाबी गरेका छन्।
बिहीबार भरतपुर महानगरपालिका–४, लङ्कुमा निर्मित जेम्स वर्ल्ड फन पार्कको उद्घाटन गर्दै प्रचण्डले भने, 'हेर्दै जाऊँ, थुप्रै रेकर्डहरु चितवन र नेपालले बनाउने छ। र आउने अवधि सभ्यता, संस्कृति र समृद्धिको एउटा नयाँ युग नेपालले बनाउने छ। मैले भन्ने गरेको छु आउने १० वर्षमा नेपालमा धेरै रेकर्डहरु बन्छन्। धेरै जिल्लामा रेकर्ड बन्छन्।'
उनले चितवनलाई सिंगापुरको सन्तोसा जस्तो बनाउन सकिने बताए।
प्रचण्डले नेपालका भएका सबै परिवर्तनहरु दलहरुबीचको सहमतिले सम्भव भएको उल्लेख गर्दै विकास र समृद्धिका लागि पनि दलहरुबीच सहमतिबाटै अगाडि बढ्नुपर्ने बताए।
राष्ट्रिय सहमतिले मात्रै ठूला-ठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले भने, 'पञ्चायत विरोधी आन्दोलन भनाैं या २०६२/६३ को आन्दोलन, शान्ति प्रक्रिया, शान्ति सम्झौता यी सबै राष्ट्रिय सहमतिबाटै सम्भव भएको हो', उनले थपे, 'सङ्घीय गणतान्त्रिक लोकतन्त्र पनि राष्ट्रिय सहमति र सम्झौताबाटै भएको हो।'
विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको भन्दै उनले आम नेपालीले खोजेको उत्पादन वृद्धि र रोजगारीको सृष्टि गर्ने, देशभित्रै आर्थिक विकास एउटा नयाँ युगतिर लैजाने कुरा नै सबै नेपालीको चाहना भएको बताए।
उनले विदेश जाने नेपालीलाई शक्तिशाली सन्देश यस फनपार्कले प्रवाह गर्ने प्रचण्डकाे भनाइ थियाे। युवाले आँट्यो भने एउटा सामान्य रेष्टुरेण्टबाट राष्ट्रियस्तरमा लगानी प्रवर्द्धन गर्ने एउटा महत्वपूर्ण उद्योग बन्न सक्ने उदाहरण फनपार्कले दिएको उनले उल्लेख गरे।
नारायणगढबाट भेटघाट रेष्टुरेण्टको नामबाट तास व्यापार सुरु गरी राष्ट्रिय महत्व राख्ने पर्यटक प्रवर्द्धन गर्नसक्ने पार्क निर्माण गरेकामा सञ्चालक गोविन्द तिवारी, महेश तिवारीसहितको सञ्चालक समूहप्रति उनले आभार व्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अध्यक्ष दाहालकाे नाम सम्बोधन गर्दै मुलुक अप्ठ्यारो अवस्थामा रहेको भन्दै विपक्षीहरुलाई पनि सँगसँगै समृद्धितर्फको यात्रामा लैजान आग्रह गरे। उनले भने, 'हामी सकारात्मक प्रतिपक्षको भूमिका खेल्न चाहन्छौँ, हामीलाई साथ लिएर गए मुलुकमा समृद्धि आउँछ।'
कोइरालाले पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रबाट भेटघाट समूहको प्रवर्द्धनमा फनपार्क सञ्चालनमा आएकामा यसले समग्र जिल्ला र देशको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदी, उद्योग वाणिज्य सङ्घ चितवनका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, फनपार्कका सञ्चालक डा निभा तिवारी, महेश तिवारी लगायतले बोलेका थिए।
सो अवसरमा दाहालले फनपार्कको उद्घाटन गरे भने कोइरालाले फनपार्कको दोस्रो परियोजना 'चितवन आई टावर'को शिलान्यास गरे। २५ करोड रुपैयाँभन्दा बढीको लागतमा भेटघाट समूहले एक सयभन्दा बढी खेल समावेस गरी पार्क निर्माण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।