भद्रपुर- झापाको दक्षिण सीमावर्ती नाका केचनाकवल पछिल्लो समय भारतीय औषधि नेपाल भित्र्याउने तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ। बुधबार पनि नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डका ९० हजार मूल्य बराबरको औषधिसहित दुई जनालाई सोही नाकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट केचनाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतीय ब्राण्डकाे ट्रामाडोल हाइड्रो क्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दिवारी गाउँपालिका–४ बस्ने ३५ वर्षीय जीतबहादुर राजवंशी र विर्तामोड नगरपालिका–५ का ३९ वर्षीय राजेन्द्र लिम्बूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए।
उनका अनुसार मे१०प १३३९ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा कचनकवल–३, बगानमा जाँचको क्रममा औषधिसहित पक्राउ गरिएको हो। उनीहरु दुवैलाई जिप्रकाको हिरासतमा राखेर अनुसन्धान गरिरहेको र बरामद औषधि बुधबारै औषधि व्यवस्था विभाग विराटनगरलाई बुझाइने प्रवक्ता श्रेष्ठले बताए।
यसअघि गत चैत १६ गते यसै नाकाबाट नेपाल भित्र्याइएको २२ लाख रुपैयाँ मूल्य बराबरको यौनवर्द्धक औषधिसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो।
लागुऔषधसहित पक्राउ
भद्रपुर नगरपालिका–५, बसपार्कबाट प्रहरी टोलीले लागुऔषधसहित एक व्यक्तिलाई बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका–५ का २२ वर्षीय वीरधन तामाङ रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।
बुधबार ९ः३० बजे प्रहरी टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका तामाङलाई जाँच गर्ने क्रममा लागुऔषध फेनारगन २० एम्पुल, डाइजेपाम २० एम्पुल र लुपिजेसिक २० थान बरामद गरेको हो।
पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।