काठमाडौं- भारतको निर्वाचन आयोगले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बनेको बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’ चलाउन रोक लगाएको छ।
कलाकार बिवेक ओबराय अभिनित फिल्मलाई बुधवार आयोगले लोकसभा चुनाव नसकुन्जेलसम्म चलाउन रोक लगाएको हो।
पछिल्लो समय विवादको केन्द्रमा रहेको यो फिल्ममाथि प्रदर्शन हुनुभन्दा ठीक एक दिनअघि आयोगले प्रतिबन्द्ध लगाएको हो।
फिल्म भोलिदेखि रिलिज हुने मिति तोकिएको थियो।
गत बिहिबार फिल्म चलाउनका लागि अनुमति दिन माग गर्दै दर्ता गरिएको रिट निवेदनलाई भारतीय सर्वोच्चले खारेज गरिदिएको थियो।
'फिल्म रिलिज हुँदा यसले कुनै राजनीतिक पार्टीको पक्षमा माहोला बनाउन सघाउ पुर्याउँछ या पुर्याउँदैन्? त्यो निर्णय आफै गर्नू,' भन्दै सर्वोच्चले त्यो विषय निर्वाचन आयोगलाई दिएको थियो।
निर्वाचन आयोगले राजनीति व्यक्तिमाथि बनाइएको राजनीतिक फिल्म चुनावकै बेला प्रदर्शन गर्दा चुनावी आचारसंहिता प्रभावित हुने भन्दै चलाउन रोक लगाएको बताएको छ।
मोदीको भाषणमाथि पनि आपत्ति
यसैबीच निर्वाचन आयोगले मोदीको भाषणप्रति पनि आपत्ति जनाएको छ। उनले महाराष्ट्रमा चुनावी प्रचारका बेला मतदातालाई आफ्नो मत बालाकोट हवाई हमलाप्रति सर्मपित गर्न आग्रह गरेका थिए।
‘के तपाईं आफ्नो पहिलो भोट उनलाई समर्पित गर्नसक्नुहुन्छ जसले हवाई हमला गरे,’ चुनावी सभालाई सम्बोधन गर्दै मोदीले भनेका थिए, ‘मतदान गर्नेहरुसँग म पहिलोपटक भन्न चाहान्छु, के तपाईं पहिलो भोट वीर जवानप्रति समर्पित गर्नसक्नुहुन्छ जसले हवाई हमला गरे(पाकिस्तानमाथि)? के तपाईंको पहिलो भोट पुलवामा आतंकवादी हमलाका सहीदप्रति सर्मिपित गर्नसक्नुहुन्छ?’
निर्वाचन आयोगले मंगलबार नै महाराष्ट्रका मुख्य निर्वाचन अधिकारीलाई मोदीको उक्त भाषणबारे विवरण पठाउन निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।