काभ्रे– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई एक ढिक्का बनाएर छाड्ने बताएका छन्।
काभ्रे –१ को क्षत्रीय कार्यालयको पार्टी भवन शिलान्यास तथा बृहत आम सभामा बोल्दै देउवाले पार्टी एक ढिक्का बनाउन सबै दत्त चित्त भएर लाग्नुपर्ने बताए। उनले भने, 'पार्टी सभापतिलाई पार्टी एक भएको देख्न अझ बढी मन हुन्छ नि। पार्टीमा एकता गराएर छोड्छु। पार्टी एकता हुन्छ,हुन्छ,हुन्छ।'
देउवाअघि बोलेका नेता कृष्ण प्रसाद सिटौलाले पार्टीमा बृहत एकताको लागि सभापतिले अग्रसरता लिनु पर्ने बताए। उनले भने, 'बृहत एकता सिद्धान्त र नीतिका आधारमा हुनुपर्छ।'
देउवाले अर्को धारका नेता सिटौलालाई भने, 'पार्टी एक बनाउन चाहेको छु। तपाईंले सहयोग गर्नु पर्यो नि।' देउवाले सरकारको विरुद्ध लड्न कांग्रेसका नेता कमजोर रहेको तर कांग्रेसलाई कमजोर बनाउन भने पार्टीका नेताहरू बलियो रहेको भन्दै असन्तुष्टि जनाए।
सरकारविरुद्ध खनिए नेताहरु
कांग्रेसको शक्ति प्रदर्शनका रूपमा गरिएको सभामा नेताहरूले पार्टीको आन्तरिक जीवनबारे खास चर्चा गरेनन्। बोल्ने अधिकांश नेताले सरकारको विरुद्धमा शब्द खर्चिए। पार्टी सभापति देउवाले ओली सरकारले देखिने र भन्न सकिने कुनै काम नगरेको आरोप लगाए।
उनले प्रश्न गरे, 'उखान र टुक्का ले देश बन्छ?' वर्तमान सरकार बनेपछि इतिहासमै सबै भन्दा बढी बलात्कार हिंसा भएको भन्दै देउवाले विरोध गरे। ओली सरकारको खिलापमा सडकमा उत्रन तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए। नेता सिटौलाले प्रतिपक्ष दल चुप लागे सरकार अन्धो हुने बताए।
प्रतिपक्ष दलको जिम्मेवारी नागरिकको आवाज उठाउनु रहेको बताउँदै सिटौलाले सभापति देउवालाई आग्रह गरे, 'सरकार गैर जिम्मेवार छ, तपाईं संसदीय दलको नेता भएकोले सचेत बनाउनुस्।'
संवैधानिक परिषद्को बैठकले विपक्षी दलको नेताबेगर निर्णय गरेको भन्दै आपत्ति जनाए। जनताको मौलिक अधिकार सरकारले कुल्चेको भन्दै आपत्ति जनाए। कम्युनिस्ट विरुद्ध लडन कमजोर कांग्रेसले नसक्ने बताए।
प्रवक्ता विश्व प्रकाश शर्माले कांग्रेस पार्टी जन्मको आधारमा,नीतिमा, विचारमा सबै कुराले जेठो रहेको दाबी गरे। प्रतिपक्षको भूमिकामा कांग्रेस रहेपनि जिम्मेवारी जेठो कै भएको दाबी गरे।
उनले भने, 'निर्वाचनमा कांग्रेस ढलेको होला। समाप्त भएको छैन।'
शान्ति प्रक्रिया, द्वन्दको समाधान र तीन तहको निर्वाचन कांग्रेसबाट सफल भएको भन्दै सन्तुष्टि व्यक्त गरे। केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री ओली संघीयता विरोधी भएको आरोप लगाए।
ओली र पुष्पकमल दाहाल खलनायक भएकाले मुलुकले संविधान कार्यान्वयन गर्न नसकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।