काठमाडौं– सांसद राजेन्द्र लिङ्देन लगायत सर्वसाधारणलाई धम्की दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौंको टोखा बस्दै आएका १९ वर्षीय प्रदीप रोकाया र बालाजु बस्दै आएका २९ वर्षीय तिलकदास पराजुली रहेका छन्।
अज्ञात व्यक्तिबाट म्यासेज र फोन सम्पर्कमार्फत् रकम माग गरेको र रकम नदिएमा गोप्य भिडियो बनाइ बेइज्जती गर्ने तथा ज्यान मार्ने धम्की दिएको भन्दै पीडितले केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्ज काठमाडौंमा उजुरी दिएका थिए।
सोही उजुरीको आधारमा प्रहरीले अनुसन्धान गरेको थियो।
धम्की दिने पराजुलीले स्पष्ट नेपाली र हिन्दी भाषा नबोली मिश्रित भाषा प्रयोग गरेर गाली गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार धम्की दिन प्रयोग गरेको मोबाइलको सिम प्रदीप रोकायले चैत्र २ गते सामाखुसीको डिजे इन्टरनेशनल पसलबाट लिएको थिए।
रोकायले उक्त सिम आर्थिक प्रलोभनमा परी तिलकदास पराजुलीलाई दिएका थिए।
सिम लिएपछि पराजुलीले रकम असुल्नका लागि विभिन्न व्यक्तिलाई भारतीय सिम नम्बर देखाउन ह्वाट्सएपबाट पटक पटक धम्की दिन थाले।
पराजलुलीले आफ्नो परिचय लुकाइ सांसद लिङ्देन लगायतलाई धम्की दिएको अनुसन्धानमा खुलेको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका गर्ने र थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।