माडी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम अब छिट्टै टुंगिने बताएका छन्।
चितवनको माडीमा पार्टीका अगुवा कार्यकर्तासँग अन्तरक्रिया तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माडीमा पार्टी कमिटी निर्माण गरेर जनताको काम मिलेर गरेकोमा स्थानीय नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिए। उनले भने– 'माडीमा गुणात्मक प्रगति हुँदैछ भन्ने सुनाउन पाउँदा मलाई गर्व अनुभूति भएको छ।’
उनले माडीको विकासका लागि रिङ रोड बनाउने, रिउ खोलामा तटबन्ध निर्माण गर्नेदेखि सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको बताए। 'हाम्रो देशको कर्मचारीतन्त्र पुरानै तर राजनीतिक प्रणाली नयाँ भएको छ। पुरानै कर्मचारीतन्त्र राजनीतिक प्रणाली नयाँ, संविधान नयाँ तर ऐन नियमहरु पुराना हुँदा सरकारलाई निकै धेरै मेहनत गर्नुपरेको छ', उनले भने, 'यहाँका जनप्रतिनिधि र पार्टी अध्यक्ष भएको नाताले मलाई पनि निकै मेहनत गर्नुपरेको छ।’
स्थानीय नेता तथा कार्यकर्ताहरुले पार्टीको स्थिति र स्थानीय समस्याका बारेमा रिपोर्ट प्रस्तुत गरेको थिए। सो अवसरमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र राप्रपाबाट नेकपामा प्रवेश गर्नेहरुलाई टीका तथा हँसिया हतौडा अंकित टोपी लगाएर पार्टीमा प्रवेश गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।