काठमाडाैं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नाे शान्तिपूर्ण आन्दाेलनमा धरपकड गरेपछि आफ्ना पूर्वनिर्धारित कार्यक्रममा संशाेधन गरेकाे छ। काठमाडाैंस्थित पध्मकन्या राेडमा भएकाे कार्यक्रममा प्रहरीले धरपकड गर्दा अध्यक्ष कमल थापासहितका नेताकार्यकर्ताहरु घाइते भएका थिए।
राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको आकस्मिक बैठकले नेपाललाई सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुर्नस्थापना तथा राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गर्ने मागहरुलाई स्थापित गराउन लागिपर्ने निर्णय गरेकाे हाे।
बैठकले संघीयताबारे राष्ट्रिय जनमत संग्रह, भ्रष्टाचार अन्त्य, बेरोजगारी समस्याको समाधान, मूल्यबृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले सञ्चालन गरिरहेको पहिलो चरणको जनसंघर्ष कार्यक्रमको समिक्षा गर्दै आगामी कार्यक्रमहरुमा थप र संशोधन गर्ने निर्णय गरेकाे छ।
संशाेधित कार्यक्रमअन्तर्गत चैत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टा धर्ना र प्रदर्शन गर्ने, बैसाख ४ र ५ गते पार्टीद्धारा नेपाल सरकारसमक्ष प्रस्तुत २२ बुँदे मागका सम्बन्धमा घरदैलो गर्ने, बैसाख ६ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्ष अंकित ब्यानर/प्लेकार्ड जलाउने र प्रदर्शन गर्नेलगायतका छन्।
पार्टी प्रचार विभाग प्रमुख माेहन श्रेष्ठका अनुसार बैसाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा २ घण्टे सत्याग्रहसमेत गर्नेछ। सत्याग्रह मध्यान्ह १२ देखि २ बजेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।