काठमाडौं– कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। मंगलबार बिहान फेसबुक स्टाटस राख्दै कलाकार गिरीले फिल्म निर्माण गर्न लागेको जानकारी गराएका हुन्।
‘६ एकान ६’ बाट चलचित्र निर्माणमा होमिएका दीपक र दीपाले नयाँ फिल्मकाे नाम पनि अक्षर ‘छ' बाटै राखेका छन्। निर्माता रोहित अधिकारीसँग सहकार्यमा आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्काे संयुक्त ब्यानरमा नयाँ फिल्म निर्माणको घाेषणा गरेका हुन्।
फिल्मलाई सञ्चारकर्मी तथा निर्देशक दिपेन्द्र लमाले निर्देशन गर्नेछन्। फिल्म ‘रोमान्टिक केमेडी' कथामा बन्ने निर्माण युनिटको भनाइ छ।
बैसाखबाट छायाँकन सुरु हुने फिल्मलाई दसैंमा प्रदर्शन गर्ने निर्माण युनिटको योजना छ। फिल्मलाई हरी हुमागाईंले खिच्नेछन्।
फिल्ममा अभिनयका लागि अहिलेसम्म कलाकार गिरी र केदार घिमिरे छनाेट भइसेकेका छन्। अन्य कलाकार भने चाँडै नै छनाेट गरी सार्वजनिक गरिने निर्देशक लामाले नेपाल लाइभलाई बताए। ‘फिल्मको स्क्रिप्टको अन्तिम काम भइरहको छ, यो सकिनासाथ कलाकारकाे नाम सार्वजनिक गर्नेछौं।'
दीपक शर्माको संगीत रहने फिल्ममा गिरीकै कथा, पटकथा तथा संवाद रहने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।