निष्क्रिय जीवनशैली र अव्यवस्थित खानपानका कारण शरीरमा सुगरको मात्रा बढ्छ । जसले शरीरका अन्य अंगलाई प्रभावित पारी विभिन्न समस्या निम्त्याउँछ । दक्षिण एशियाका नागरिकहरू डायबिटिजको उच्च जोखिममा रहेको विभिन्न अध्ययनले देखाइसकेका छन् । त्यसैले यसबाट नेपाली पनि अछुतो रहने कुरै भएन । विशेषगरी पछिल्लो समय बढ्दो शहरीकरण र व्यस्तताले नेपालीलाई पनि यो समस्याले गाँज्दै लगेको देखिन्छ । यसैसन्दर्भमा हामीले वीर अस्पतालको डायबिटिज तथा इन्डोक्राइनोलोजी युनिटका डाक्टरहरूलाई सोध्यौं– नेपालमा डायबिटिजको अवस्था कस्तो छ ? यसको कारण र न्युनिकरणका उपाय के हुन् ? युनिटमा कार्यरत डाक्टरहरू डा. मनिल बज्राचार्य, डा. बुद्ध कार्की, डा. अलर्क देवकोटा ‘रजोरिया’ र डा. दीपक मल्लसँग कुराकानी गरी तयार पारिएको सामग्री ।
के हो डायबिटिज ?
डायबिटिजलाई टाइप वान र टाइप टु गरी दुई प्रकारमा विभाजन गर्न सकिन्छ । टाईप वान इन्सुलिन हर्मोनको अत्यधिक कमीले हुने समस्या हो । टाइप टुमा इन्सुलिनको कमीका साथै त्यसले प्रभावकारी रुपमा काम गर्न नसक्ने हुन्छ । यी दुवै कारणले डायबिटिजको समस्या भइरहेको हुन्छ । अहिले धेरै देखिने गरेको डायबिटिज टाइप टु हो । यो जीवनशैलीका कारण हुने गर्छ ।
इन्सुलिनले शरीरमा रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । यो प्याङ्क्रियाज भन्ने ग्रन्थीबाट उत्पादन हुन्छ । टाइप वानको समस्यामा हर्मोन नै उत्पादन हुँदैन भने टाईप टु मा भने हर्मोन उत्पादन भएपनि त्यसले काम गर्न नसक्ने समस्या देखापर्छ । यी दुवै समस्याले रगतमा सुगरको मात्रा बढ्छ ।
टाईप वान वंशााणुगत हो । कतिपयलाई बाल्यावस्थामा देखा पर्छ । कतिपय किशोर र युवाहरूमा पनि यस्तो समस्या देखिन्छ । कतिपयले भने भाइरस इन्फेक्सनका कारण पनि टाइप वान डायबिटिज देखा पर्ने बताउँछन् । उपचारको दृष्टिकोणबाट हेर्दा टाईप वान कठिन हुन्छ । किनकि बिरामीलाई सामान्य अवस्थामा राख्न नियमित रुपमा इन्सुलिन दिनुपर्ने हुन्छ । यसमा बिरामीलाई इन्सुलिनले नै बचाउने हो ।
दोस्रो प्रकारको डायबिटीज भने मानिसको जीवनशैलीका कारण देखा पर्ने हुन्छ । मोटोपन बढ्यो भने डायबिटिज हुने जोखिम उच्च हुन्छ । किनकि इन्सुलिनले सुगरलाई मानिसको शरीरको कोषभित्र पठाउने काम गर्छ । तर मोटो मानिसको शरीरमा इन्सुलिनले राम्रोसँग काम गर्न नसक्दा रगतमा सुगरको मात्रा बढ्ने हुन्छ । त्यसैले मोटोपन हुनु डायबिटिजको जोखिम बढाउनु हो ।
डायबिटिज हुन नदिन के गर्ने ?
खासगरी शहरी क्षेत्रमा जसको घरका सदस्यमा डाइबिटिजको समस्या छ, उनीहरूले स्वास्थ्य शिविर हँुदा वा अन्य मौकामा नियमित परीक्षण पनि गराइरहेका छन् भने कतिपयले भने समस्या देखिएपछि मात्रै परीक्षण गर्ने भएकले समस्या उस्तै छ । पक्कै पनि पहिलेको भन्दा सचेतना अपनाउने हिसाबले नियमित परीक्षण गर्नेहरू बढेका छन् । तर, पनि धेरैले समस्या देखिएपछि मात्रै आउँछन् ।
बंशाणुगत जोखिम पनि उच्च हुन्छ । परिवारमा बाबुआमालाई डायबिटिज भइसकेको छ भने सन्तान पनि उच्च जोखिममा हुन्छन् । बाबु आमालाई भयो भन्दैमा सन्तानलाई पनि डायबिटिज हुन्छ भन्ने होइन तर अहिलेको जीवनशैलीका कारण हामी उच्च जोखिममा छौं । अरु जोखिम बढेपछि उसलाई सहजै डायबिटिजले आक्रमण गर्न सक्छ ।
त्यस्तो जोखिममा भएका मानिसहरूले अरु सतर्कता बढाउन आवश्यक छ । उदाहरणका लागि तौल नियमित राख्न सचेत हुने, शारीरिक क्रियाकलाप बढाइरहने, नियमित स्वास्थ्य परीक्षण गर्ने आदि । यति सावधानी अपनाउँदा पनि उसलाई डायबिटिज भएमा उसलाई बेलैमा थाहा हुन्छ र नियन्त्रिण गर्न सजिलो पर्छ । सामान्य अवस्थाकै मानिसले हरेक ३ वर्षमा नियमित स्वास्थ्य परीक्षण गर्नु उपयुक्त हो भने जोखिममा रहेकाहरूले १÷१ वर्षमा गर्नुपर्छ । प्रि–डायविटिज भएका मानिसहरूलाई हामीले शारीरिक परिश्रम बढाउन, सन्तुलित आहार् खान सल्लाह दिइरहेका हुन्छौं । पहिलेदेखि नै सचेतना अपनाए उसलाई पछि डायबिटिज नहुन पनि सक्छ । पहिले नै ध्यान दिइयो भने डायबिटिज हुने जोखिमलाई निकै हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
डायबिटिजबाट जोगिन के गर्ने ?
टाइप २ भएकाले उचाइ अनुसारको तौलमा ध्यान दिनुपर्छ । खानेकुरामा सलाद ज्यादा खाने, सागपात खाने, खानापछि हिड्ने गर्नुपर्छ । डायबिटिज हुनासाथ जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । शारीरिक परिश्रम बढाउनुपर्छ आराम घटाउनुपर्छ ।
चिकित्सकले सिफारिस गरेमा नियमित औषधि लिनुपर्छ । एकपटक देखिएर नियन्त्रण भएकाहरूमा भने सुगर मात्र नियन्त्रण नगरी युरिक एसिड, लिभर लगायतका नियमित परीक्षण गर्नुपर्छ । डायबिटिज भएपछि सुगर मात्रै नियन्त्रण नभई अरु पक्षबारे पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । नियन्त्रणमा आएपछि पनि उसले नियमित रुपमा स्वास्थ्यमा सचेतना अपनाउनुपर्छ ।
डायबिटिज देखिएको सुरुको ४–५ वर्ष त्यसलाई नियमित नियन्त्रणमा राख्न सकियो भने शरीरका अंगहरूमा गर्ने असरको दर कम हुन्छ । डायबिटिज भएकोमा सबैजसोमा ब्लड प्रेसरको समस्या देखिन्छ । उच्च रक्तचाप देखिएका र ४० वर्ष उमेर पुगिसकेकाहरूले पनि डायबिटिज भएकाले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । परिवारमा सुगरको हिस्ट्रि छ भने त्यस्ता व्यक्तिले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।
डायबिटिज र प्रेसर दुवैले किड्नीमा असर गर्न सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्छ । डायबिटिजलाई मुटुरोगको ठूलो जोखिम पनि मानिन्छ । एकपटक हर्ट एट्याक भएकालाई फेरि हुने जति जोखिम हुन्छ त्यति नै डायबिटिज भएकालाई पनि जोखिम रहन्छ ।
नेपालमा स्वास्थ्य बीमाको नीति कमजोर भएका कारण पनि डायबिटिजले आक्रमण गरेपछि मात्रै यसको पहिचान हुन्छ । अन्यथा स्वास्थ्य बीमा भएको भए नियमित स्वास्थ्य परीक्षणका क्रममा यस्ता कुरा समयमै थाहा हुन्थ्यो । जोखिम नै नभएको र आफू स्वस्थ्य छु भन्ठान्नेले पनि नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ । विद्यालय तहमा पनि यसबारे सचेतनाका विषय राखिनुपर्छ र स्वास्थ्य चौकीसम्म पनि यस्ता विषयमा सचेतना फैलाउन आवश्यक पर्छ ।
सरकारले तयारी खाद्य पदार्थ र गुलियो रहेको खाद्य पदार्थमा कर लगाउने हो भने पनि नीतिगत तहमा केही सहयोग हुने देखिन्छ । विद्यालय क्षेत्रको निश्चित भागमा जंक फुडलाई रोक लगाउनु पनि अर्को उपाय हो ।
अर्कोतफ हामी नियमित रुपमा गुलियो खाइरहेका हुन्थ्यौं । हाम्रो शरीरका लागि यो आवश्यक छैन । नखाँदा पनि फरक पर्दैन । नेपालमा छिटो र सस्तो हुने भएकाले जंकफुड बढिरहेको छ । यसलाई रोक्नुपर्छ । चुरोट नखानेको दाँजोमा चुरोट खानेलाई डायबिटिजको जोखिम ज्यादा हुन्छ । डायबिटिज भइसकेकाहरूलाई आर्थिक भार पनि निकै छ । यस्ता बिरामीलाई सरकारले पनि सहुलियतमा औषधि दिने लगायतका काम गर्नुपर्छ ।
डायबिटिज भइसकेपछिका समस्या अनेक छन् । सुगरका कारण हुने अरु शारीरिक समस्याहरूले उपचार खर्च महंगो बनाइदिन्छ । डायबिटिजको संक्रमण भइसकेपछि मानिसको कार्यक्षमतामा पनि ह्रास आउने खतरा रहन्छ । त्यसैले डायबिटिज हुनुभन्दा पहिले हुनै नदिनु बुद्धिमानी हुन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।