काठमाडौँ– खाना पकाउने ग्यास र सवारी साधनका लागि इन्धनको कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने प्रयासमाथि काठमाडौँ महानगरपालिकाले निगरानी बढाएको छ।
महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेका अनुसार, ग्राहकलाई ग्यास उपलब्ध नभएको भनी गलत सूचना दिइने, मूल्य बढाएर बिक्री गर्ने वा इन्धन डिपोमा तेल भएको भए पनि उपलब्ध नगराउने घटनाबारे गुनासो आउन थालेपछि निगरानी सक्रिय गरिएको हो।
नेपाल आयल निगमले सिलिण्डर ग्यासको मूल्य १ हजार ९१० रुपैयाँ तोकेको हुँदा यही मूल्यमा मात्र खरिद-बिक्री गर्न व्यवसायी र उपभोक्तालाई अनुरोध गरिएको छ। काफ्लेले भने, “ग्यास अभाव हुने आशंकामा उपभोक्ताले अत्यधिक माग गर्दा आपूर्ति–मागको सन्तुलनमा असर पर्छ। सहज जनजीविकाका लागि उपभोक्ता, उद्योग तथा वाणिज्य क्षेत्र र सरकार सबैको जिम्मेवारी समान रूपले महत्वपूर्ण छ।”
महानगरले पेट्रोल पम्पहरूले इन्धन उपलब्ध नभएको भनी सवारी साधनलाई रोक्ने वा झूटो सूचना दिने गतिविधि पनि निगरानीमा राखेको जनाएको छ। ग्यास वा इन्धन अभाव सिर्जना गर्ने क्रियाकलाप देखिएमा ११८० वा ९८५१३५६५०९ मा तथ्यमा आधारित विवरण टिपाउन सकिने व्यवस्था गरिएको छ। प्राप्त विवरणको आधारमा महानगरले कारबाही र निगरानी दुवै अघि बढाउने जनाएको छ।
यसैबीच, ग्यास बिक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतबाट आउने ग्यास नियमित आपूर्ति भइरहेको जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।