काठमाडौ- पुलवामा हमलापछि चर्किएको विवाद सेलाइनसक्दै भारत र पाकिस्तान फेरि विवादमा उत्रिएका छन्। पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले भारतले पाकिस्तानमाथि हमला गर्न थालेको सूचना आफूले पाएको भन्ने दाबी गरेसँगै विवाद सतहमा आएको हो।
पाकिस्तानको पञ्जाबमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेशमन्त्री कुरैशीले अप्रिल १६ देखि २० बीचमा भारतले पाकिस्तानविरुद्ध कारबाही गर्ने गोप्य सूचना आएको दाबि गरेका थिए। ‘पाकिस्तानविरुद्ध फेरि अर्को एक कारबाहीको सम्भावना छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘यसको तयारी भइरहेको छ। हाम्रा गुप्तचरका अनुसार अप्रिल १६–२० का बीचमा यो कारबाही हुन सक्छ।’
भारतविरुद्ध यो आरोप आफूले जिम्मेवारीसिहत लगाएको पनि उनले बताएका थिए।
कुरैशीले यो जानकारी मिल्नेबित्तिकै अन्तर्राष्ट्रिय समुदायलाई मात्र नभई आफ्ना नागरिकलाई पनि सूचित गर्ने निर्णय पाकिस्तानले गरेको बताएका थिए। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्यहरुलाई पहिले नै यो जानकारी गराइसकिएको उनको भनाइ थियो।
बेतुकको दाबी : भारत
भारतले भने पाकिस्तानको उक्त दाबीलाई खण्डन गरेको छ।
भारतीय विदेश मन्त्रालयले यसलाई गैरजिम्मेवार र बेतुक दाबी भनेको छ। ‘भारत, पाकिस्तानी विदेश मन्त्रालयको गैरजिम्मेवार तथा बेतुक दावीको खारेज गर्दछ,’ विदेश मन्त्रालयका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यसको उद्देश्य यो क्षेत्रमा युद्ध उन्माद फैलाउनु हो। यस्तो लाग्छ, उसको यो हर्कत पाकिस्तानस्थित आतंकवादी संगठनलाई सन्देश दिनका लागि हो र जसबाट फेरि भारतमा आतंकवादी हमला गर्न सकियोस्।’

यस्तो उन्मादी बयान दिनुको साटो पाकिस्तानले आफ्नो क्षेत्रमा सक्रिय आतंकवादी तत्वविरुद्ध विश्वसनीय कदम उठाउन आवश्यक रहेको भारतको भनाइ छ। भारतले आफ्नो सीमाको कुनै पनि क्षेत्रमा हुने अतंकवादी हमलाविरुद्ध सख्त र निर्णायक जवाफ दिने आधिकार आफूसँग भएको पनि बताएको छ।
गत १४ फेब्रुअरीमा भारतको पुलवामामा भएको आतंकवादी आक्रमणमा भारतीय केन्द्रीय रिजर्व प्रहरी बल (सिआरपिएफ) का ४० जवानको ज्यान गएको थियो। पाकिस्तान संरक्षित जैश–ए– मोहमदले यो आक्रमण गरेको भन्दै भारतले त्यसको जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो।
भारतीय आक्रमणको जवाफमा पाकिस्तानले भारतीय वायु सेनाको विमान खसालेको थियो र एक पाइलट अभिनन्दन वर्तमानलाई नियन्त्रणमा लिएको थियो।
आफूले युद्ध नचाहेको भन्दै पाकिस्ताले नियन्त्रणमा लिइएको भारतीय पाइलटलाई रिहा गरिदिएको थियो। त्यसयता दुई देशबीचको विवाद केही मत्थर भएको थियो।एजेन्सीको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।