काठमाडौं– सर्वोच्च अदालतले विवेकशील साझाका प्रदेश सांसदहरूलाई फिर्ता बोलाउने निर्णय तत्काल कार्यान्वयन नर्गन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलाशले प्रदेश ३ का दुई सांसद रमेश पौड्याल र विराजभक्त श्रेष्ठलाई फिर्ता बोलाउने विवेकशील साझा पार्टीको निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको हो।
रविन्द्र मिश्र र उज्जल थापा गरी दुई गुटमा विवेकशील विभाजित भएपछि उनीहरूलाई फिर्ता बोलाउने पत्र प्रदेश ३ मा पुगेको थियो। मिश्र पक्षले लेखेको पत्रविरुद्ध थापा समूह सर्वोच्च पुगेको थियो।
पार्टीको पुस २८ गतेको निर्णयले दुई सांसदहरुलाई फिर्ता बोलाउने निर्णय भएको प्रदेशसभा सचिवालयमा चैत १० गते पत्राचार मिश्र पक्षले गरेको थियो। त्यस विरुद्ध दायर भएको मुद्दामा सर्वाेच्चले दुवै पक्षसँग छलफल नभएसम्मका लागि कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको हो।
सर्वोच्चले चैत २७ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। उक्त दिनसम्म हटाउने निर्णय कार्यान्वयन नर्गन सर्वोच्चले भनेको हो। दुवै पक्षको सुनुवाइपछि अन्तरिम आदेश जारी भएमा उनीहरूको पद कायम रहेने छ भने खारेज भएमा फिर्ता आउनुपर्ने छ।
विवेकीशील साझा पार्टीबाट विवेकशील नेपाली दल अलग भएपछि विवेकशील साझा पार्टीले प्रदेशसभा ३ का दुई सांसदलाई कारबाहीको निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।