काठमाडौं– बलिउडमा किङ खान भनेर परिचित सुपरस्टार शाहरुख खानले ढाका टोपी लगाएको एउटा तस्बिर चर्चित छ। नेपाली र नेपालीभाषीले पनि सामाजिक सञ्जालमा यो तस्बिर बेलाबेलामा शेयर गरेको देख्न सकिन्छ।
हरियाली चिया बगान पृष्ठभूमीमा देखिने गरी आफ्नी नवविवाहित पत्नीलाई अंगालोमा बेरेको यो तस्बिरबारे अभिनेता खानले हालै मात्र एक कार्यक्रममा भने, ‘मलाई पनि यो तस्बिर एकदम मन पर्छ।’
यो तस्बिरको सिलसिला सम्झदै अभिनेता खानले बिहे र हनिमुनबारे एउटा किस्सा पनि सुनाए। भने, 'बिहे गरेपछि मैले श्रीमती गौरी खानलाई पेरिस भन्दै झुक्याएर दार्जीलिङ घुमाउन लगेको थिएँ।’
अघिल्लो साता भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले आयोजना गरेको एउटा पुरस्कार वितरण कार्यक्रममा शाहरुख र गौरीको जोडीले ‘मोस्ट स्टाइलिस कपल’ शीर्षकको पुरस्कार हात पार्दै गर्दा उनले यस्तो किस्सा सुनाएका हुन्।

कार्यक्रममा यो तस्बिर देखाएर गफगाफ सुरु गरिएको थियो।
शाहरुखले भन्दै थिए,‘त्यतिबेला म ज्यादै गरिब थिएँ। तर गौरी मिडल क्लास परिवारकी थिइन्। तर उनलाई विवाह अगाडि मैले हनिमुनका बेला पेरिस लैजाने र आइफल टावर देखाउने बाचा गरेको थिएँ। तर मसँग टिकट पनि थिएन। पैसा पनि थिएन। पेरिस भनेर मैले गौरीलाई दार्जेलिङ लगेँ।’
त्यहि बेला खिचिएको तस्बिर रहेछ यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।