भैरहवा- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले नेपाली नेताहरु रातारात अर्बपति हुने खेलमा लागेको आरोप लगाएका छन्। नयाँ शक्ति पार्टी सिद्धार्थनगर कमिटीले आज भैरहवामा आयोजना गरेको अन्तरक्रियामा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले हिजोको अवस्थामा जनतासँग मागेर खाने, लत्ताकपडा लगाउने नेताहरु दसपन्ध्र वर्षको अवधिमा चिल्लो कारमा हिँड्ने, ठूला महलमा बस्ने र सामान्य हाछ्यूँ आउँदा पनि सिंगापुर, अमेरिका लगायतका देशमा उपचार गर्न जाने हैसियतमा पुगेको कटाक्ष गरे।
कसैको पनि नाम उल्लेख नगरी भट्टराईले भने, ‘आम्दानी केही छैन तर केही नेता एकाएक अर्बपति भएका छन्, यसमा केही न केही गडबडी अवश्य छ, यति भने नाम नै उच्चारण गर्न पर्दैन, आफै बुझिहाल्नुन्छ।’
राजनीति भनेको निजी व्यवसाय नभएको उनले बताए। अब व्यवस्था परिवर्तनका लागि जेल जानुपर्ने अवस्था नरहेको बताउँदै भट्टराईले सबै सदाचारी र विधिको शासन अनुसार चल्नुपर्ने भनाइ राखे। ‘समृद्धिका कुरा मात्रै गरेर हुँदैन, त्यसका लागि भ्रष्टाचार रोक्नुपर्छ, उद्योगमैत्री नीति र कानुन बनाउनुपर्छ, विदेशी लगानी भित्र्याउनु पर्छ’, उनले भने।
मुलुकमै भएको साधनस्रोतको सही परिचालन गर्ने, राजस्व परिचालन सही ढंगले गर्ने र निर्यातमुखी नीति बनाएमा समृद्धि हासिल गर्न सकिने भट्टराईको भनाइ छ। ‘सरकारले लगानीको वातावरण बनाउन सकेको छैन, मुलुकभित्रैका साधनस्रोतको सही परिचालन गरे समृद्धि हासिल गर्न सकिन्छ, यसका लागि नेताहरुमा इच्छाशक्ति आवश्यक छ’, उनले भने। अझै पनि महिला, दलित, पिछडा वर्गहरुले लोकतन्त्रको महसुस गर्न नसकेको जनाउँदै भट्टराईले मुलुकमा विभेदको अन्त्य नभए सम्म सच्चा लोकतन्त्र नआउने बताए।
‘हामीले औपचारिक रुपमा संविधान त बनायौं तर त्यसले निर्दिष्ट गरेका कुराहरु व्यवहारमा लागू गरी सदाचार र सुशासन कायम नगरेसम्म लोकतन्त्रको अनुभूति जनताले गर्न नपाउँदैनन्’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।