काठमाडौं- आजका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने मुख्य एजेन्डासहित पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। शीर्ष नेताहरुबीच व्यापक सहमति खोजेर केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेको पार्टीका केन्द्रीय सदस्य महेन्द्र यादवले बताए।
सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति गठनका विषयमा सहमति जुटेको बताए पनि सो सहमतिमा नेता कृष्णप्रसाद सिटौलाले असहमति जनाएका छन्।
कांग्रेसको नयाँ विधानमा २८ वटा विभाग गठन गर्ने व्यवस्था गरिएको छ। तर सभापति देउवाले ती विभाग गठन गर्न नसकेको वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्षको आरोप छ। विभाग गठनका लागि देउवामाथि दबाब परेपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अनुशासन समिति, निर्वाचन समिति यसअघि नै गठन गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।