मुम्बई– ‘चुनाव जनताका लागि एउटा अवसर हो। सही र राम्रो उम्मेदवार जिताउने अवसर,' अभिनेता आमिर खानले भने, ‘म कसैलाई यसलाई नै भोट हाल भन्न त सक्दिनँ तर सुझाव भने दिन सक्छु।’
भारतमा महाचुनाव लागिसकेको छ। ठूला दलका शीर्ष नेताहरु चुनावी सभाहरुलाई सम्बोधन गरिरहेका छन्। कतैकतै चुनावी फन्डा र प्रपोगान्डाका दृश्य–परिदृश्य सतहमा आएका छन्। हरेक दलका आआफ्नै योजना छन्।
मतदाता लोभ्याउन दलहरुका अभ्यासहरु कस्ता लाग्छन्?
अभिनेता खानलाई यी सबै चुनावी चहलपहलका पहलुहरु हुन् भन्ने लाग्ने रहेछ। तर मुख्य कुरा चुनावी प्रक्रिया हो। ब्यालेटबाट छानिने नेता हो। अझ महत्वपूर्ण त मतदाता हुन्। उनले भने, ‘मलाई लाग्छ, विश्वको सबैभन्दा ठूलो जनतन्त्र भएको देशको मुख्य कुरा जनताहरु नै हुन्। यस्तो देशमा चुनावका दिन घरमा बस्नेभन्दा पनि घरबाहिर निस्केर अनिवार्य रुपमा भोट हाल्नुपर्छ।’
चुनावी दिनलाई महान् दिन भन्दै उनी मतदानको दिन सभ्य भएर भोट हाल्न सबैमा अपील गर्छन्।
भारतमा यतिबेला कतिपय कलाकार मौजुदा सत्ता पक्षको पक्षमा या विपक्षमा देखिएका छन्। झन्डै ६ सय कलाकारले सत्ताधारी गठबन्धनलाई भोट नदिन लिखित आग्रह गरेको समाचार पनि आएको छ। उनीहरुले भनेका छन्, ‘मोदी सरकारले संविधानको कदर गरेन। मान्छेका स्वतन्त्रता हनन भएका छन्। कला र सिर्जनालाई समेत प्रहार गरिएको छ।’
तर, आमिर कसलाई रुचाउँछन् त?
अभिनेता खान कुनै पनि दल या गठबन्धनको पक्षमा खुलेका छैनन्। र, खुल्न पनि चाहँदैनन्। त्यसो त उनले केही महिनाअघि एउटा टेलिभिजन कार्यक्रममा आफू सिर्जनात्मक स्वतन्त्रताको पक्षमा रहेको बताएका थिए। अरु धेरै अभिव्यक्तिमा पनि उनले मानवीय स्वतन्त्रताको पैरवी गर्छन्। तर उनले आफ्नो यही अवधारणालाई चुनावी क्रमसँग जोड्न रुचाउँदैनन्।
आमिर भन्छन्, ‘म फेरि त्यही भन्न चाहन्छु, म कसैलाई यसलाई भोट देऊ भन्दिनँ। आफूलाई मन परेको दल या उम्मेदवारलाई मत दिनुहोस्। चुनाव अवसर हो, अवसर चुक्यो भने पछुतो रहिरन्छ।’
असक्त र ब्यालेटसम्म पुग्न नसक्ने मतदाताहरुलाई सरकारले सहुलियत दिएर उनीहरुको मत खसाल्ने अधिकारको परिपूर्ति गर्नुपर्ने राय आमिरको छ। ‘मत खेर जाने कुरा सबै बन्द गर्नुपर्छ’, अभिनेता खान थप्छन्, ‘मानिसहरुलाई यसबारे जागरुक बनाउन पनि जरुरी हुन्छ।’ –एजेन्सीहरुको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।