काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भ्रष्टाचार मंहगी, कुशासनबाट आक्रान्त भएका जनताले विकल्पमा राजसंस्था रोज्ने खतरा रहेको औंल्याएका छन्।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुख्य दलहरुको असफलता र अकर्मण्यताका कारण राजा फर्किने खतरा रहेको टिप्पणी गरे। ‘देशमा राजा फर्काउने खेल भइरहेको छ,' उनले भने, 'सयौं राजा पाल्नुभन्दा एउटै राजा भए हुन्थ्यो भन्ने जनतामा परिसकेको छ।’
कांग्रेस महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रको कुरा उठाउनु र महासमिति बैठकमा हिन्दु राष्ट्रको माग गर्नुले राजा आउने खतरा आफूले देखेको उनले स्पष्ट पारे।
मुलुकको लागि संघीयता घाँडो भएको पनि उनको टिप्पणी छ। उनले भने, ‘संघीयता खारेज गरिएन भने यसले मुलुकलाई खारेजी गर्छ।’ संघीयताको खर्च मुलुकले धान्न नसक्ने भन्दै उनले संघीयता खारेज नभए संघीयताले देशलाई खारेज गर्ने चेतावनी दिए।
केसीले संसदमा प्रस्तुत नागरिकता विधेयक तत्काल खारेज गर्न पनि माग गरे। उक्त विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने उनको टिप्पणी थियो। उनले भने, ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ। यो अत्यन्तै गम्भीर र गलत कुरा हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।