काठमाडौं– नेपाली हलमा आजबाट ‘लभ स्टेसन’ प्रदर्शनमा आएको छ। अन्य शुक्रबार दुई वा दुईभन्दा बढी फिल्मको भिड लाग्ने नेपाली फिल्म बजारमा यो हप्ता भने ‘लभ स्टेसन’ले सोलो रिलिजको मौका पाएको छ। यससँगै आजैबाट प्रदर्शनमा आएको हलिउड फिल्म ‘क्याप्टेन मार्वल’ र यसअघि नै प्रर्दशनमा आएका फिल्महरु साँइली, बलिउड फिल्म ‘केशरी’, ‘सजाम’ पनि प्रदर्शनरत छन्।
प्रदीप खड्का र जसिता गुरुङको मुख्य अभिनय रहेको फिल्मले सोलो रिलिजको मौका पाउनुले पछिल्लो समय ओरालो लागेको फिल्म व्यापारलाई सुधार गर्न सक्ने फिल्म विश्लेषकहरुको अनुमान छ। फिल्म ‘प्रेम गीत’मा चम्किएका प्रदीप त्यसयता उति उत्कृष्ट प्रस्तुतिका साथ दर्शक रुझाउन सफल देखिएका छैनन्। उनको यस्तो खस्कँदो स्टारडमलाई रिकभर गर्न फिल्म कति सक्षम हुने हो त्यो भने पर्खाइको विषय बनेको छ।
केही समयअघि प्रदीप र जसिताकै अभिनयमा ‘लिलिबिली’ प्रदर्शनमा आएको थियो। जहाँ प्रदीप र जसिताको जोडीलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका थिए। तर उनीहरुको यो दोस्रो स्क्रिन सेयरलाई कतिले रुचाउने हुन् त्यो भने शुक्रबार र शनिबारका अकुपेन्सीले देखाउनेछ।
फिल्म सिंगल र मल्टिप्लेक्स गरी नेपालभर सयजति स्क्रिनमा प्रदर्शनमा आएको छ।
‘लभ स्टेसन’लाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन्। गोविन्द शाहीले निर्माण रहेको फिल्ममा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजालको समेत अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।